‘अस्तव्यस्त’ नेपालगन्ज कारागार

114

नेपालगन्ज-क्षमता भन्दा दोब्बर बढी कैदी बन्दी हुँदा नेपालगन्ज कारागार यतिखेर अस्तव्यस्त बनेको छ । चिसो मौसममा कारागारका कैदी बन्दीहरु नसुतेरै रात कटाउने गरेका छन् । तीन सय जना अट्ने क्षमता रहेको कारागारमा हाल सम्म ६ सय ४२ जना कैदी बन्दी रहेको कारागार प्रशासनले जनाएको छ । यसमध्ये ५९ जना महिला कैदी बन्दी छन् । नेपालगन्ज कारागारका प्रमुख (जेलर) श्यामलाल लामिछानेले कारागारको क्षमता बढाउन धेरै पहिलेदेखी केन्द्रिय स्तरमा माग गरेपनि सुनुवाई नभएको बताएका छन् । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा उनीहरुको व्यवस्थापन गर्न समस्या हुने गरेको उनले सुनाए । लामिछानेले भने, ‘कैदी बन्दी थपिदै गएका छन्, तर उनीहरुलाई राख्ने ठाउँ थपिएको छैन ।’

कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या उत्पन्न भएको कुरा दुई वर्षअघि नेपालगन्ज आएको संसदिय टोलीले पनि ठहर गरेको थियो । यति मात्र नभएर राष्ट्रिय मानव अधिकार आयोग लगायतका विभिन्न अधिकारवादी संघ, संस्थाले पनि सुझाव दिएका थिए । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उत्पन्न भएको समस्या समाधानमा ध्यान दिन तत्कालिन पुनरावेदन अदालत नेपालगन्जले समेत सरकारलाई आदेश दिएको थियो । तरपनि सरकारले जीर्ण अवस्थामा रहेको कारागारमा कैदी बन्दी राखेर पुर्वाधार निर्माणमा बेवास्ता गरेको पाइएको छ । कारागारको भौतिक पुर्वाधार अभावका कारण आफुहरुको मानव अधिकार हनन् भएको कैदीबन्दी बताउँछन् । ‘सुत्ने र बस्ने ठाउँ कतै छैन, पानी परेपछि हाम्रो विजोग हुन्छ, चिसोमा कठ्यांग्रिएर रात काट्नुपर्छ,’ कारागारका कैदी(चौकीदार) मोहम्मद युनुस खाँले सुनाए । बस्ने ठाउँको अभावका कारण कारागारभित्र कैदी बन्दीले उद्यम, व्यवसाय गर्न समेत नपाएको उनको गुनासो छ ।

महिला कैदी बन्दी राखेको ठाउँ खाली गरी पुरुषलाई राख्ने र कारागार परिसरमै रहेको खाली जमिनमा छुट्टै भवन बनाएर महिला कैदी बन्दीलाई राख्दा थोरै राहत मिल्ने जेलर लामिछाने बताउँछन् । तर, यसका लागी सरकारले भवन निर्माणको बजेट दिदैन । २०६७ सालतिर १ सय क्षमताको भवन निर्माण गरेपछि केही वर्षका लागी समस्या टरेपनि तीन वर्षयता पुनः दोहोरिएको उनको भनाई छ । बि.सं. २००० सालतिर निर्मित उक्त कारागारको पर्खाल पुरै जीर्ण भइसकेको छ । जीर्ण अवस्थामा रहेको कारागारको भौतिक संरचनाले सुरक्षा चुनौती देखिएको सुरक्षाकर्मी बताउँछन् । मुद्दाको अत्यधिक चाप र मध्य तथा सुदुरपश्चिमका कारागारबाट उपचारका लागी सरुवा भएर कैदी बन्दी नेपालगन्ज आउने भएकाले बर्षेनी संख्या बढ्दै गएको हो । बस्ने ठाउँ अभावकै कारण कैदी बन्दीबीच आपसमा झडप समेत हुने गरेको कारागार प्रशासनले जनाएको छ । सरकारले बाँकेको जानकी गाउँपालिकास्थित गनापुरमा खुल्ला कारागार र बैजनाथ गाउँपालिकाको नौवस्तामा क्षेत्रीय कारागार निर्माण गर्ने योजना अगाडी सारेको छ । तर, यि दुबै योजनाले अहिले सम्म पुर्णता पाएका छैनन् ।

Womui
Womui