चिसोले मृत्यु हुनेको संख्या रौतहटमा १७ पुग्यो

50

रौतहट-चिसोले कठ्याँग्रिएर रौतहटमा थप दुई जनाको ज्यान गएको छ । शनिवार बेलुकी सम्म चिसोको कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । शुक्रबार राती थप दुई जनाको चिसोको कारण ज्यान गएको हो। स्थानीय दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका ६५ बर्षिय गुगली हजरा र गढीमाई नगरपालिका वडा नम्वर १ समनपुरका ५० वर्षिय बतहु सरभंगको गए राती कठ्याँग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुर्गा भगवती गाउँपालिका वडा नम्वर ३ मत्सरीका महादलित भनिने डोम समुदायका ६५ वर्षिय बृद्ध हजारा राती खाना खाएर सुतेका थिए । ओढ्ने अभावमा उनको राती नै जाडोको कारण कठ्याग्रिएर मृत्यु भएको हो । यस्तै गढीमाई नपा १ समनपुरका सरमंगपनि खाना खाएर सुत्ने घरको अभावमा बजारमै रहेको धर्मशालामा ज्यादर ओढेर सुत्दा शनिवार बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी सहायक निरीक्षक खहेरु यादवले बताए । दिनदिनै बाक्लो हुस्सुसंगै चलिरहेको शीतलहरका कारण रौतहट लगायत यस भेगको जनजीवन कष्टकर बनेको छ । जिल्ला वन कार्यालय रौतहटको तथ्याँक अनुसार गत बर्षको तुलनामा यसपालि ७ गुना बढी दाउरा रौतहटका स्थानीय तहहरुलाई उपलब्ध गराएपनि अपुग भएको छ ।

गत वाषर्षको कठयाँग्रिदो चिसोमा जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले १५ टयाक्टर दाउरा उपलब्ध गराएको थियो। स्थानीय तहको निर्वाचन पश्चात जिल्लाका १६ नगरपालिका र २ गाउँपालिकाको लागि जिल्ला वन कार्यालयले करिब एक सय भन्दा बढी ट्याक्टर दाउरा सर्वसाधारणलाई आगो बाल्न उपलब्ध गराएपनि अपुग देखिएको छ । वन कार्यालयका आपुर्ति प्रमुख अरुण कार्णले यसपालिको चिसोमा गत वर्षको तुलनाका साढे ३१ चट्टा दाउरा करिब सय ट्याक्टर वितरण गरेपनि अपुग देखिएको छ । जनप्रतिनिधिहरुले अझै दाउरा उपलब्ध गराउनु पर्ने माग गरेका छन् । गत बर्ष जिल्लाको गौर, गरुडा र चन्द्रपुर नगरपालिका र बजारहरुको लागि १५ टयाक्टर दाउरामै प्रयाप्त भएको थियो । यसपालि सदरमुकाम गौरमा मात्रै साढे दुइ चट्टा (दश टयाक्टर) दाउरा उपलब्ध गराएको आपुर्ति प्रमुख कर्णको भनाइ छ ।

–नागरिकन्युजबाट

Womui
Womui