मिति तोकिएको ३० दिनमा राष्ट्रिय सभा चुनाव हुने आयोगको प्रष्टोक्ती

113

काठमाडौं-निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको ३० दिनमा निर्वाचन गराउने सरकारलाई जानकरी गराएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहितका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राष्ट्रिय सभा निर्वाचनका लागि लाग्ने समयबारे जानकारी गराएका हुन् । राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेपछि मनोनय दर्ता र मतदानसम्म तीस दिन समय लाग्ने बताए । ‘मिति छोटो आए हुन्थ्यो भनेका छौं । हामीले ३० दिनमा चुनाव गराइदिन्छौं भनेका छौं’, यादवले भने, ‘मतपरिणाम होइन कि ३० दिनमा मनोनयन दर्तादेखि मतदान हुन ‘कम्पलिट’ गर्न ३० दिनको कुरा गरेका छौं । हेरौँ के हुन्छ ।’

आयोगले मिति घोषणाअघि प्रदेश प्रमुख नियुक्ति गर्न समेत सरकारसँग माग गरेको छ । ‘प्रदेश सभा सदस्यको सपथ नभएसम्म इलेक्टोरल कलेज पुरा हुन्न’, यादवले भने, ‘प्रदेश प्रमुखको नियुक्ति पहिला गरेर मिति तोक्नुपर्छ । यी सबै विषय जोडिएका छन् । हामीले त्यसबारे पनि ध्यानाकर्षण गरायौं ।’ आयोगले निर्वाचनमा विद्युतीय मतदान गर्ने कि मतपत्र छाप्ने भन्ने निर्णय गर्न बाँकी रहेको जनाएको छ । मनोनयन दर्ता, मतपत्र छपाई लगायतका समय लाग्ने आयोगका अर्का आयुक्तले बताए । ‘एकल संक्रमणीयको विषयमा मतदाता शिक्षाको कार्यक्रम पनि तय गर्नुपर्छ’, ती आयुक्तले भने, ‘तीस दिनको समय लाग्छ ।’

आयोगले प्रत्येक प्रदेशमा निर्वाचन निर्वाचन गर्ने कि सबैलाई एकैठाउँमा बोलाउने भन्ने निर्णय समेत लिइसकेको छैन । तर सातै प्रदेशमा निर्वाचन गर्ने तयारी आयोगले गरेको छ । राष्ट्रिय सभा गठनका लागि प्रदेशका सांसद र ७५३ स्थानीय सरकारका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । आयोगले बिहीबार राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ताको आव्हान गरेको छ । आयोगले दल दर्ताका लागि मात्र पनि १५ दिनको समय दिएको छ । राष्ट्रिय सभा निर्वाचन र गठनमा समय लाग्ने देखिएसँगै नयाँ सरकार गठन समेत पर धकेलिएको छ । निर्वाचनकै लागि एक महिनाको समय लाग्ने तथा त्यसपछि प्रतिनिधि सभाको समानुपातिक सांसद छनौटका लागि समेत समय लाग्ने भएकाले सरकार गठन फागुन दोश्रो सातामा मात्र हुने देखिएको हो ।

–सेतोपाटीबाट

Womui
Womui