‘हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डालाई सडकबाट उठाउँछौं’ : कमल थापा

47

नेपालगन्ज-राप्रपा अध्यक्ष कमल थापाले अब सडकबाट हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डालाई सशक्त रुपमा उठाउने बताएका छन् । संसदमा राप्रपाको उपस्थिती न्यून भएकाले हिन्दु राष्ट्र र राष्ट्रियताको आवाज पनि कमजोर हुने अवस्था देखिएकाले सडक बाहेक अर्को विकल्प नभएको उनले प्रष्ट्याए । नेपालगन्जमा शनिबार आयोजित पत्रकार भेटघाटमा बोल्दै उपप्रधानमन्त्री समेत रहेका थापााले भने, ‘यसपटकको निर्वाचनमा जनताले हामीलाई सडकमा पु¥याईदिएका छन्, अब हामी सडकमा बसेर सशक्त रुपले आफ्नो एजेण्डालाई उठाउँछौं ।’

हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोक्ने पार्टीले ३ प्रतिशत पनि भोट ल्याउँदैन भन्ने कल्पना नै नगरिएको बताउँदै थापााले यो पराजयले राप्रपालाई मात्र घाटा नभएको जिकिर गरे । चुनावमा पराजयका बाबजुत पनि आफुहरु विचलित नभएको प्रष्ट्याउँदै उनले अगाडी थपे, ‘मुलुकको सामुन्ने विद्यमान चुनौती र समस्याहरु समाधान गर्ने क्रममा राप्रपाले अवलम्वन गरेको नीति र मार्गचित्र उपयुक्त छ भन्ने हामीलाई अझैपनि लाग्दछ, यद्यपी चुनावी परिणाम हाम्रो पक्ष रहेन्, तर हामीले मुलुकको परिस्थितीका बारेमा विगत १ दशकदेखी गर्दै आएको विश्लेषण सही सावित भएको छ ।’

राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी अध्यादेशका बारेमा पनि कायम रहेको विवाद राष्ट्रपतिबाट विद्येयक प्रमाणिकरण भएपछि अन्त्य भएको बताउँदै उपप्रधानमन्त्री थापाले भने, ‘अब कुनै अवरोधहरु छैन, सम्पुर्ण विधी र प्रकृया पुरा गरेर चाडै नयाँ सरकार गठन हुने अपेक्षा हामी गर्न सक्दछौं ।’ वर्तमान सरकार वा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नवनिर्वाचित नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न पुर्ण रुपमा तयार रहेको थापाले बताए । उनले थपे, ‘सत्ता हस्तान्तरण गर्न प्रधानमन्त्री ज्यू राजनीतिक र मानसिक रुपमा समेत तयार हुनुहुन्छ र अन्य राजनीतिक दलहरु पनि यसतर्फ सकारात्मक रहेको मैले पाएको छु ।’

पत्रकारले सोधेको जिज्ञासामा राप्रपा अध्यक्ष थापाले आफु नेपालगन्ज आएको अवसरमा पुर्वराजा ज्ञानेन्द्र पनि यही रहेको कुरा थाहा पाएपछि स्वभाविक रुपले पुर्वराजा र पुर्वराष्ट्र प्रमुखसँग आफुले शिष्टाचार भेट गरेको बताए । शनिबार बिहान नेपालगन्ज आईपुगेका थापा पुर्वराजालाई भेट्न मध्यान्हतिर सोल्टी होटलमा पुगेका थिए ।

Womui
Womui