दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स खजुरामा

112

मधु पौडेल

नेपालगन्ज-बाँकेको खजुरामा दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता हुने भएको छ । यही पुस १२ देखी १४ गते सम्म खजुरा गाउँपालिका वडा नम्बर २ सितापुरस्थित शुक्र माध्यामिक बिद्यालयमा उक्त प्रतियोगिता हुने भएको हो । नेपाल एथलेटिक्स संघको तत्वाधानमा बाँके जिल्ला एथलेटिक्स संघले प्रतियोगिता आयोजना गर्न लागेको सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।

नेपालगन्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित ।
तस्बिर : मधु पौडेल

प्रतियोगितामा पुरुष र महिला एथलेटिक्सका ट्रयाक एण्ड फिल्डका इभेन्ट हुने बताइएको छ । उक्त प्रतियोगितामा ट्रयाकतर्फ १ सय मिटर, २ सय, ४ सय, ८ सय, १५ सय, ५ हजार र चार गुणे चार सय मिटर रिले दौड तथा फिल्डतर्फ लङ्गजम्प, ट्रिपल जम्प, सटपुट र ज्याभलिन समावेश गरिएको छ । नेपाल बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष बिक्रमजंग थापाका अनुसार प्रतियोगितामा १९ वर्ष मुनिका छात्र एवम् छात्रा खेलाडी मात्र भाग लिन पाउनेछन् । देशभरका हरेक विकास क्षेत्रबाट १६ खेलाडी तथा दुई जना अफिसियल गरी ९० जनाको सहभागिता रहने थापाले जानकारी दिए ।

प्रतियोगिताका लागी मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्जले समन्वय गरेको छ । प्रतियोगिता सफल पार्न खजुरा गाउँपालिका प्रमुख किस्मत कक्षपतिको अध्यक्षतामा मुल आयोजक समिति गठन गरिएको छ । प्रतियोगितालाई चुस्त बनाउन विभिन्न उपसमिति पनि गठन भएका छन् । पत्रकार सम्मेलनमा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ लगायतले बोलेका थिए ।

 

Womui
Womui