एराप्रपा उम्मेदवार कँडेलसँग मतदाताबाट विकासको अपेक्षा

52

नेपालगन्ज-एकिकृत राप्रपा(राष्ट्रवादी)का प्रतिनिधी सभा-२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलसँग अधिकांस मतदाताले विकासको अपेक्षा धेरै गरेका छन् । एकिकृत राप्रपा(राष्ट्रवादी)का केन्द्रिय सह–प्रवक्ता समेत रहेका कँडेलले घरदैलो गर्ने क्रममा शनिबार नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका अन्तर्गत पर्ने विभिन्न वडाका मतदाताले विकास निर्माणको अपेक्षा गरेका हुन् ।

घरदैलोका क्रममा नेपालगन्जस्थित गणेशपुरका मतदाताले डुबान समस्या रहेको भन्दै निर्वाचित भएपछि उक्त समस्या समाधानका लागी पहल गरिदिन आग्रह गरेका थिए । केही बर्षदेखी गणेशपुर क्षेत्रमा डुबान समस्या दोहोरिदै आएको विषयमा स्थानीय बासिन्दाले यसबाट आफुहरु मुक्त हुन चाहेको बताएका थिए । सो क्रममा कँडेलले आफु निर्वाचित भएपछि नेपालगन्जको डुबान समस्यालाई दिर्घकालिन रुपले समाधान गर्नका लागी विशेष पहल गर्ने प्रतिवद्धता जनाएका थिए । यस्तै नेपालगन्जको बुलबुलिया क्षेत्रमा शनिबार घरदैलो गर्ने क्रममा स्थानीय मतदाताले रामलिला मैदान व्यवस्थित गरिदिन आग्रह गरेका थिए ।

त्यस अवसरमा उम्मेदवार कँडेलले रामलिला मैदान व्यवस्थित गर्न आफुले जोड दिने बताएका थिए । ‘विकासका लागी म तपाईहरुको साथमा रहनेछु, यसको लागी मलाई चुनावमा सहयोग गर्नुस्,’ कँडेलले भने । यसैगरी शनिबार नै कम्दी क्षेत्रमा घरदैलो गर्ने क्रममा त्यहाँका स्थानीय बासिन्दाले आफुहरु बर्षेनी डुबानको पीडाबाट मुक्त हुन नसकेको बताएका थिए । ‘बर्षेनी राप्तीनदी र डुडुवा खोलाले हामीलाई पीडित बनाईरहेको छ, यसबाट मुक्ति दिलाउन तपाईको सहयोग हामीलाई चाहियो,’ एक स्थानीय बासिन्दाले भने ।

सो क्रममा उम्मेदवार कँडेलले आफु विकास गर्नकै लागी चुनाव लडेको बताएका थिए । कँडेलले भने, ‘म विकास गर्नकै लागी उम्मेदवार भएको हुँ, तपाईहरुले मलाई जिताएर पठाउनुस्, त्यसपछि विकास क्रमशः हुदै जान्छ ।’ उनले शनिबार बिहान मुस्लिम समुदायको महान पर्व मोहम्मद डेको शुभकामना साटासाट गर्दै भोट मागेका थिए ।

Womui
Womui