मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन

48

नेपालगन्ज-पहिलो चरणमा निर्वाचन हुन लागेका ५ र ६ नम्बर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् । माथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् । ती ठाउँको अवस्था बुभ्mन सुरक्षा निकायको सञ्चारसेटमा भर पर्नुपर्ने अवस्था छ । ‘टेलिफोन सम्पर्क नहुने ठाउँमा हामीले सुरक्षा सतर्कता अझ बलियो बनाएका छौं,’ मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेशमान प्रधानले भने, ‘तत्कालका लागि सुरक्षाकर्मीको सञ्चार सेटमा भर पर्नुको विकल्प छैन ।’

पूर्वी रुकुमका नौ मतदान केन्द्र सञ्चार सम्पर्कबाहिर छन् । रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खाराबाङ, कोल र राङ्सी केन्द्रमा टेलिफोन टावर छैन । पेल्मा केन्द्रमा त सुरक्षाकर्मीको सञ्चारसेटले पनि काम गर्दैन । करिब दुई घण्टा दूरीमा पर्ने रन्मा पुगेर खबर टिपाउनुपर्छ । ‘हामीले यस्ता केन्द्रमा सूचना संयन्त्रमा विशेष ख्याल गरेका छौं,’ पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र सापकोटाले भने । रोल्पाका सुनछहारी, थबाङ र सुकीदह गाउँपालिकाका केही मतदान स्थल सञ्चार सम्पर्क्विहीन छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको प्रभाव बढी भएका यी ठाउँमा सुरक्षा गस्ती बढाइएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

उनका अनुसार प्रत्येक गाउँपालिकामा दुईदुईजना प्रहरी निरीक्षकको नेतृत्वमा सुरक्षा टोली खटाइएको छ । ‘कतै केही घटना भइहाल्यो भने जतिसक्दो छिटो प्रहरीसँग सूचना पुग्ने व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यसका साथै सुरक्षाका सबै अंग बाक्लो गरी परिचालन भएकाले सोचेजस्तो जोखिम नहोला ।’ सञ्चार सम्पर्क नहुने स्थानमा मतदातालाई बाटोमै अवरोध हुने, आक्रमणका घटना हुने र मतदान स्थलमा बुथ कब्जा हुने जोखिम बढी हुन्छ । बुथ कब्जा हुनबाट रोक्न सुरक्षाकर्मीको भूमिकाले काम गर्ने भए पनि मतदान स्थलबाहिर हुने अवाञ्छित गतिविधि रोक्न भने चुनौती छ । आफ्नो प्रभाव बढी भएका क्षेत्रमा कुनै राजनीतिक दलले विपक्षी मतदातालाई अवरोध गर्ने, धम्की दिने घटना विगतका निर्वाचनमा पनि हुने गरेका थिए ।

मुगुमा सदरमुकामबाहिरका केही मतदान केन्द्रमा बुथ कब्जा हुन सक्ने खतरा औंल्याउँदै सुरक्षा सतर्कता बढाइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजिमान बुढाले पिना, कोटिला, टोप्ला, मुर्मा, बाम, सोरु, जिमा, जडेपानी, ज्वालधारा, नेहेर, भिइआम, नखर्जी, श्रीकोट, चिमाढुंग्रीलगायत मतदान केन्द्रमा सुरक्षा सतर्कता बढाइएको बताए ।
-नागरिक दैनिकबाट

Womui
Womui