बाँकेमा लोकतान्त्रिक गठबन्धन मतदाताको घरघरमा

90

नेपालगञ्ज- बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् । ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभाका सबै उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर मत मागिरहेका हुन् । ‘घरघरमा पुग्दा मतदाताले हामीलाई सिधै भेटेर आफ्ना कुरा राख्न पाउने र हामीले पनि उनीहरुलाई ‘कन्भिन्स’ गर्न पाउने अवस्था हुँदा घरदैलोलाई प्राथमिकता दिएका छौं, नेपालगञ्जको पुरैनीमा विहीबार घरदैलोमा रहेका प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजादले भने । उनी प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिसंगै प्रचारमा छन् । सिंजापतिले भने,‘घरघरमा पुग्दा सबैका कुरा सुन्न पाइन्छ, आफ्ना कुरा राख्न पाइन्छ, त्यसैले घरदैलोमा छौं,’ विहीबार विहान आजादले प्रदेश सभा २ ख का उम्मेदवार सुरेन्द्र हमालसंगै नेपालगञ्ज बेलासपुरमा घरदैलो गरेका छन् ।

बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री घरदैलोमा ।

हमालले मतदाताको न्यानो माया, स्वागत र भरोसा पाउँदा अत्यन्त खुसी लागेको बताए । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि केही दिनदेखि नरैनापुर गाउँपालिकाका विभिन्न गाउँहरुमा घरदैलो कार्यक्रममा व्यस्त छन् । विहीबार दिउँसो गंगापुरमा घरदैलो गरिरहेका खत्रीले बघौडा क्षेत्रको मुहार फेर्न आप्mनो उम्मेदवारी रहेका बताए । ‘म बघौडा क्षेत्रका जनता माझ छु, उनीहरुसंगै बसेर गरिबी, अशिक्षा, बेरोगारीको सामना गरिरहेकाहरुलाई शिक्षा, अवसर र विकास दिने प्रतिबद्धता जनाएको छु,’ खत्रीले भने-‘घरदैलोले उनीहरुसंग साक्षात्कारको मौका मिलेको छ ।’

बर्माले भने आफू त्यसै क्षेत्रमा हुर्के बढेको, शिक्षाको ज्योति फैलाएको र हरेक सुखदुखमा संगै रहेका कारण स्थानीयबाट अत्यन्त स्नेह र सद्भाव पाइरहेको बताए ।  प्रदेश सभा १ का का उम्मेदवार नारायण गौडेलले पनि विहीबार कोहलपुरको वडा नम्बर ५ मा घरदैलो गरिरहेको बताए । ‘कोहलपुरलाई नमुना सहर बनाउने प्रतिबद्धता गरिरहेको छु, डुवर टु डुवर जाँदा मतदाताले निकै आत्मियता देखाएका छन्,’ उनले भने । प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले पनि विहीबार परस्पुर र थुकैला गाउँमा घरदैलो गरेका छन् ।

दिउँसो ए गाउँमा कोणसभा गरिरहेका उनीहरु प्नि मतदाताको साथ र समर्थनले हौसिएका छन् । दुबैले भने,‘हामी निकै खुसी छौं, जनताले हामीलाई राम्रो ‘रेस्पोन्स’ गरेका छन्, घरघरमा जाँदा स्वागत गरेका छन् तर उनीहरुको एउटै गुनासो छ जिते पछि पनि यसरी नै आउनुहोला, यसअघि जितेका चुनावपछि आएनन् ।’ प्रदेश सभा ३ क का उम्मेदवार चन्तुराम थारु पनि मतदाता भेटघाटमा व्यस्त रहेका छन् । उनले भने,‘म अहिले मतदाताको घरमै छु, यहीँ खाना खाएँ, स्थानीयका कुरा सुन्दैछु, जितेपछि उहाँहरुकै सुखदुखमा हुने हो, बाटाघाटा, पुलपुलेसा, विजुली, सिंचाईको भोक मेट्ने हो ।’

Womui
Womui