रुपन्देही युवा संघ अध्यक्षको गोली हानी हत्या, बुटवल क्षेत्र तनावग्रस्त

167

बुटवल, पुस ४-

एमाले निकट युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या गरिएको छ। देवदहमा ईट्टा व्यवसाय सञ्चालन गर्दै आएका तिवारीलाई  देवदह ८ कोलीय बचत तथा सहकारी संस्थादेखि नजिकै मोटरसाइकलमै गएका दुई जनाको समूहले गोली प्रहार गरी  हत्या गरेको हो । गोली प्रहार गरेलगत्तै उनीहरु फरार रहेको प्रहरीले जनाएको छ। मोटरसाइकलमा अगाडि सवार तिवारीलाई पछाडिबाट गोली हानिएको थियो ।  गोली तिवारीको छातीको अगाडि बायाँतर्फबाट बाहिर निस्किएको छ। घटनापछि स्थानीय युवाहरूलाई समेत प्राइभेट नम्बरबाट फोनगरी मनोज पुन भन्ने व्यक्तिले धम्की दिने गरेको स्थानीयले जनाएका छन्।

तिवारीको हत्यापछि अहिले बुटवल तनावग्रस्त बनेको छ। तिवारीको हत्या विषयलाई लिएर आक्रोशित युवासंघका कार्यकर्ता तथा एमाले निकट युवाहरुले बुटवलमा प्रदर्शन गरी बन्द गरेका छन्। युवासंघले लुम्बिनी अञ्चल बन्दको घोषणा गर्दै बुटवलमा प्रदर्शन गरेका छन्। आक्रोशित युवाहरुले बुटवलको राजमार्ग चौराहमा रहेको प्रहरी विटमाथि तोडफोड र आगजनी प्रयास गरेका छन् भने आगजनीबाट प्रहरी विटमा रहेको पर्दा जलेको छ। सो क्रममा अनेरास्ववियूका कार्यकर्ता दिपक चापागाई र भरत अर्याल घाईते भएको अनेरास्ववियूले जनाएको छ ।

उता तिवारीको हत्याको विरोधमा एमाले नवलपरासीले साँझ जिल्लाका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ । विरोध स्वरुप उनीहरुले एक घण्टा राजमार्ग बन्द गराएका थिए । एमाले कार्यकर्ताहरुले हत्यारालाई पक्राउ गर्नुपर्ने माग राख्दै गैंडाकोट, कावासोती, भूमहीलगायतका क्षेत्रमा एक घण्टा राजमार्ग बन्द गरेका थिए।

Womui
Womui