पत्रकारितामा राजनीति हाबी भएको भन्दै असन्तुष्ट

94

काठमाडौं, असोज १६

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टरमा राजनीति हाबी भएको भन्दै सक्रिय पत्रकारहरु अन्तुष्ट बनेका छन् । पत्रकारहरुको संगठन प्रेस सेन्टरमाको नेतृत्वमा पत्रकार भन्दा पार्टीका नेता र व्यावसायीहरुलाई टीका लगाइएको भन्दै सक्रिय पत्रकारहरु असन्तुष्ट बनेका हुन् ।

press-center

प्रेस सेन्टरको नेतृत्वमा यसपटक नयाँ अनुहार र सक्रिय पत्रकार निर्वाचित गराउने भन्दै देशभरका प्रतिनिधिहरु भेला भएका थिए । तर, पार्टीले हस्तक्षेप गरेर पार्टी पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई पत्रकारको नेतृत्वमा ल्याइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु आक्रोशित बन्दै महाधिवेशन नै बहिस्कार गरेर हिँडे भने कतिपयले हलभित्रै होहल्ला गरेर बिरोध जनाएका थिए । हालको नेतृत्तवमा ल्याइएका अधिकांश माओवादीका केन्द्रीय सदस्य छन् ।

यसपटक निरन्तर पत्रकारिता पेसामा संलग्न व्यावसायिक पत्रकारहरुलाई नेतृत्वमा आउन दिइएन । त्यस्तै पत्रकार महासंघको नेतृत्वमा रहेर काम गरेका र पत्रकारका रुपमा परिचितहरु पनि कमैमात्र नेतृत्वमा ल्याइँदा सक्रिय पत्रकारहरु आक्रोशित बनेका छन् ।

नेतृत्वमा चुनिएकाको नालीबेली यस्तो छ

भावी नेतृत्वको अध्यक्षमा चुनिएका महेश्वर दाहाल हाल कुनै पनि मिडियामा संलग्न छैनन् । दाहाल नेकपा माओवादीका पोलिटव्यूरो सदस्य हुन् । दाहालले विगतमा पत्रकारिता पेसामा संलग्न भए पनि पछिल्लो समय उनी पार्टीको पूर्णकालीन नेतृत्वमा छन् । पार्टी विभाजनका बेला वैद्य माओवादीको केन्द्रीय सदस्य रहेका दाहाल पार्टी एकीकरणपछि जम्बो केन्द्रीय कमिटीमा पोलिटव्यूरो सदस्य बनेका छन् । त्यस्तै उपाध्यक्ष बनाइएका गोविन्द आचार्य पनि पार्टीका पोलिटव्यूरो सदस्य हुन् । आचार्य प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकारसमेत हुन् । उनी पनि पछिल्लो समय सक्रिय पत्रकारितामा छैनन् । उनी प्रेस सेन्टरको अध्यक्षबाट घटेर वरिष्ठ उपाध्यक्ष पदमा बसेका हुन् । त्यस्तै अध्यक्षका सशक्त दावेदार ओम शर्मालाई उपाध्यक्षमा बनाइएको छ । उनी रातोपाटी अनलाइनका प्रधान सम्पादक र सक्रिय पत्रकारितामा छन् । शर्मा पनि माओवादीका केन्द्रीय सदस्य रहिसकेका नेता हुन् । उनलाई प्रेस काउन्सिलको अध्यक्ष वा कुनै देशको राजदूत बनाउने आश्वासन दिएर उपाध्यक्ष थमाइएको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।

उपाध्यक्ष बनाइएका अर्का नेता दीपक मैनाली माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी माओवादी सम्बद्ध पत्रिकाहरुमा व्यवस्थापकीय जिम्मेवारीमा रहेर काम गरेका तर अहिले सक्रिय पत्रकारितामा नरहेका व्यक्ति हुन् । मसालबाट माओवादी बनेका अर्का उपाध्यक्ष कमल गिरीले पत्रकारिता कर्म छाडेको कम्तिमा एक दशक भइसकेको छ । उनी अमिक शेरचन र गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री भएका बेला पीए बनेका व्यक्ति हुन् । पछिल्लो समय गिरी पत्रकारितामा छैनन् ।

बलराम थापा पत्रकारिता भन्दा व्यापार व्यवसायमा रमाइरहेका नेता हुन् । माओवादी केन्द्रीय सदस्य रहेका थापा पनि कुनै मिडियामा छैनन् ।

महासचिव बनाइएका विष्णु सापकोटाको जनयुद्धकालीन नाम जुगल हो । उनलाई विष्णु सापकोटा भन्दा पनि जुगलका नामले चिनिन्छ । जुगल पनि माओवादी केन्द्रीय सदस्य र थाहा सन्चार रेडियोमा केही शेयर सहित व्यवस्थापकीय जिम्मेवारीमा छन् । उनी पत्रकारभन्दा पनि पहिलेदेखि नै व्यवस्थापकका रुपमा परिचित छन् ।

सचिन रोका पत्रकारिता गरिरहेका व्यक्ति हुन् । उनले अध्यक्षमा दावी गरेका थिए । उपाध्यक्ष थमाउने बेला सचिनलाई पनि नेपाल टेलिभिजनको महाप्रबन्धक बनाउने आश्वासन दिइएको स्रोतले जनाएको छ ।

प्रेस सेन्टरका १६ जना सचिवमध्ये ओपेन्द्र शर्मा ऊर्जामन्त्री जनार्दन शर्माका भाइ हुन् । उनी पत्रकारिता पेसामा संलग्न छैनन् । यसअघि नागरिक लगानी कोषमा राजनीतिक नियुक्ति पाएका शर्मा अहिले ऊर्जा मन्त्रालयमा सक्रिय छन् । अर्की सचिव लक्ष्मी पुन सक्रिय पत्रकारितामा रहँदै गर्दा माओवादीले समानुपातिक उम्मेदवार बनायो । तर, सांसद नबनाएपछि उनी लामो समय तत्कालीन उपसभामुख ओनसरी घर्तीको स्वकीय सचिव भएर काम गरिन् । ओनसरी सभामुख हुने बेला उनलाई स्वकीय सचिवालयबाट हटाइयो । पछि लक्की शेर्पालाई राजदूत सिफारिस गरिएपछि फेसबुकमा उनले लेखेको ‘राजदूत हुन हट एण्ड सेक्सी हुनुपर्ने रहेछ’ भन्ने स्टाटस निकै चर्चित भयो । उनी हाल आफैं एक म्यागेजिन प्रकाशन गरेर सक्रिय पत्रकारितामा छिन् ।

अर्का सचिव मनोज घर्तिमगर उपराष्ट्रपतिका प्रेस सल्लाहकार छन् भने कतिपय सचिवहरु पत्रकारितामा नामै नसुनिएका छन् । घर्ती यसअघि नयाँ पत्रिकामा काम गर्थे । लक्ष्मण खड्का र राजेश चाम्लिङ भने सक्रिय पत्रकारिता गरिरहेका सचिव हुन् ।

पार्टीले हस्तक्षेप गरेर पार्टी पोलिटव्यूरो र केन्द्रीय सदस्यहरुलाई पत्रकारको नेतृत्वमा ल्याइएको भन्दै महाधिवेशन प्रतिनिधिहरु आक्रोशित बनेका थिए

कोषाध्यक्ष बनाइएका सुरेशचन्द्र अधिकारी पत्रकारभन्दा पनि व्यवसायी हुन् । उनी विशेष गरी आफ्नो गाडीमा माओवादी पत्रकारका नेताहरुलाई घुमाउने र खानपिन तथा विदेश भ्रमणका बेला खर्चपर्च जुटाइदिएका कारण कोषाध्यक्षको जिम्मेवारी पाउन सफल भएको चर्चा प्रेस सेन्टरमा चलेको छ ।

 

Womui
Womui