मध्यपश्चिमका पाँच जिल्लामा स्वच्छता परियोजना सञ्चालन

33

नेपालगन्ज, असोज १०–
मध्यपश्चिमका पाँच वटा जिल्लामा स्वच्छता परियोजना सञ्चालनमा आएको छ । नेपाल सरकारसँगको सहकार्यमा युएसएडको सहयोगमा एसएनभि र पिएसआईले मध्यपश्चिमको डोल्पा, कालिकोट, रुकुम, सल्यान र जाजरकोट जिल्लामा उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । आगामी सन् २०२१ फेब्रुअरी सम्म चल्ने उक्त परियोजना अन्तर्गत साना तथा मझौला सुरक्षित पिउने पानी, सोलार पावर वितरण, संक्रमण रोकथाम, स्वास्थ्य सम्वन्धी ब्यवहार परिवर्तन सञ्चार लगायतका क्षेत्रमा काम गर्ने परियोजनाका विमल चापागाईले जानकारी दिए ।

नेपालगन्जमा सोमबार बेलुका आयोजित कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधीले परियोजनाको सफलताको शुभकामना दिए । सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखाका निर्देशक डा. नरेशप्रताप केसीले परियोजना सञ्चालनका लागि एउटा निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिदै भने, ‘मापदण्ड अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्छ, यो परियोजना एकदमै राम्रो छ, परियोजना कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका स्वास्थ्य प्रमुखसँग मिलेर काम गर्नुहोला ।’

क्षेत्रीय स्वास्थ्य निर्देशक बसन्त अधिकारीले परियोजना मध्यपश्चिमको पाँच जिल्लामा कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै परियोजनाबाट ठुलो उपलब्धी प्राप्त हुने विश्वास गरे । ‘मध्यपश्चिमका स्वास्थ्य संस्थाले बेहोर्दै आएको समस्या समाधानमा परियोजनाले पक्कैपनि सहयोग पु¥याउनेछ,’ उनले भने । परियोजना शुभारम्भ कार्यक्रममा एसएनभिका राष्ट्रिय निर्देशक पिटर न्यूसम, विभिन्न जिल्लाका स्वास्थ्य प्रमुख लगायतले बोलेका थिए ।

Womui
Womui