कांग्रेसको ७ राज्यमन्त्री पठाउने तयारी

36

काठमाडौं, असोज ५-

नेपाली कांग्रेसले ७ वटा राज्यमन्त्री पठाउने तयारी गरेको छ । कांग्रेस सभापति देउवाले राज्यमन्त्रीमा पठाउने नाम छनोटका लागि आफू निकटहरूसँग छलफल अघि बढाएका छन् । स्रोतका अनुसार ७ राज्यमन्त्रीमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई २ जनालाई दिने तयारी भइरहेको छ । देउवाले समावेशी र प्रादेशिक प्रतिनिधित्व हुने गरी नाम छलफलमा ल्याएको बताइएको छ । यसअघि मन्त्री बनाउँदा पार्टीभित्र आलोचित भएपछि राज्यमन्त्रीमा समावेशी बनाउन देउवा लागिपरेका हुन् । त्यस्तै राज्यमन्त्रीका लागि कैलालीका मीन विश्वकर्मा, दीर्घराज भाट, रूपन्देहीका अब्दुल रज्जाक, मोरङका दिलिप गच्छेदार, गुल्मीका सुवर्ण ज्वारचन, रामेछापका आङतावा शेर्पा, तनहुँका ध्रुव वाग्ले, सुनसरीका सीताराम मेहता चर्चामा छन् । पौडेल पक्षबाट काभ्रेका कञ्चनबादे श्रेष्ठ, झापाकी सरिता प्रसाईं, कपिलवस्तुका सुरेन्द्र आचार्य र कास्कीका जीवन परियार चर्चामा छन् । पौडेल पक्षले यिनैमध्येबाट राज्यमन्त्री तय गर्ने स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघीय महासभामा जाने कार्यक्रम स्थगित भएपछि कांग्रेस सभापति देउवा राज्यमन्त्री तत्काल पठाउने तयारीमा लागेका हुन् ।

Womui
Womui