कंग्रेस बाँकेः सभापति चुन्न पुनः मतदान हुने

83

नेपालगन्ज– नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न भएको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रबार पुनः मतदान हुने भएको छ ।

आज साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् । त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेल संस्थापन इतरका हुन् भने कुर्मी र हमाल संस्थापन समूहबाट उम्मेदवारी दिएका थिए ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण आज भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबिच पुनः मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
कुल १४ सय ९३ मत संख्या मध्ये १४४५ जना मतदाताले मतदान गरेकोमा २४ मत बदर भएको निर्वाचन कमिटीले जानकारी दिएको छ । आज सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज बिहान सवा ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो । निर्वाचन कमिटीको छलफलपछि शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुने जनाइएको छ ।

अन्य पदको मतगणना सभापति पदको दोस्रो चरणको मतदान सकिएपछि मात्रै सुरु हुने निर्वाचन समितिले जनाएको छ ।

Womui
Womui