एम्बुलेन्स तोडफोडको विरोधमा १ घण्टा हड्ताल

39

बुटवल, पुस ३-

५ नम्बर प्रदेश विभाजन विरुद्ध तीनदिनदेखि जारी आमहड्तालको क्रममा शनिबार एउटा एम्बुलेन्स तोडफोड गरिएको विरोधमा आइतबार एक घण्टा एम्बुलेन्स चालकले सांकेतिक विरोध गरेका छन् । उनीहरुले सडकमै एम्बुलेन्स खडा गरेर सांकेतिक विरोध गरेका हुन् ।भैरहवा विमानस्थलबाट बिरामी बोकेर बुटवल आउँदै गरेको भूपु सैनिक क्लब बुटवलद्धारा सञ्चालित लु१च २१३१ नं. को एम्बुलेन्स राजमार्ग चौराहमा तोडफोड गरिएको थियो । सोही विषयलाई लिएर बुटवल आसपासमा सञ्चालित दुई दर्जन बढी एम्बुलेन्सलाई लुम्बिनी अञ्चल अस्पताल अगाडि राजमार्गमा खडा गरी एम्बलेन्स चालकहरुले विरोध गरेका थिए। भैरहवा क्षेत्रमा संचालित ११ वटा एम्बुलेन्सलाई पनि भैरहवा मेडिकल कलेज अगाडि खडा गरी सांकेतिक विरोध गरिएको थियो । एम्बुलेन्स चालक संघ लुम्बिनीका अध्यक्ष यदु भण्डारीले मानिसको जीवनसँग जोडिएको एम्बुलेन्स सेवा सञ्चालनमा अवरोध हुँदा चालकहरु नै असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभुती गराउन प्रहरी प्रशासनसँग माग गरेका छन्।

एम्बुलेन्स चालक संघ लुम्बिनीमा लुम्बिनी अञ्चलमा सञ्चालित १ सय ५३ वटा एम्बुलेन्स आबद्ध रहेका छन्। जसमध्ये रुपन्देहीमा मात्र ५५ वटा एम्बुलेन्स संचालनमा रहेको संघले जनाएको छ ।

Womui
Womui