दसैँ आयो ’हर्ष र विष्मात्’

185

नेपालगन्ज, असोज १४-

किराले नष्ट गरेको धानबाली हेर्दै हिरमिनियाका किसान ।
किराले नष्ट गरेको धानबाली हेर्दै हिरमिनियाका किसान ।

चारैतिर दसैँको चहल पहल सुरु भइसकेको छ । तर, जिल्लाका किसानलाई ‘बेल पाक्यो कागलाई हर्ष र विष्मात्’ झै भएको छ । सबैका घर, आँगनमा दसैँ भित्रिएपनि हिरमिनिया–१ का जयलाल मौर्यलाई दसैँ आएको कुनै अनुभूति नै छैन । उनको दैनिकी अचेल खेतबारीमै बित्ने गरेको छ । पाक्न लागेको धान बालीमा किराको महामारी फैलिएपछि उनी यतिखेर निकै चिन्तित छन् । विपन्न परिवारका जयलालले ‘माना छरेर मुरी फलाउने’ सोचका साथ कृषिमा पसिना बगाएका थिए । ‘अनौठो किसिमको किरा लागेर धान जति सबै खतम पारिसक्यो, यो वर्ष धान जति सबै किराको आहारा हुने भयो,’ सुस्केरा हाल्दै उनले भने ।
फल्ने समयमा पानी नपर्दा धानमा किराले आक्रमण गरेको उनले बताए । धानको पात बेरेर बस्ने ‘पात बेरुवा’ र कलिलो फल खाने ‘पतेरो’ किरा व्यापक रुपमा फैलिएको छ । जयलालको ५ विघा जमिनमा लगाएको धानमा करिब ३० प्रतिशत किराले नोक्सान गरेको छ । फल्ने समयमा किराले आक्रमण गरेका कारण धानको उत्पादन यस वर्ष घट्नेमा उनको चिन्ता छ ।
जयलालले थपे, ‘सुरुमा त धान राम्रोसँग हुर्किरहेको थियो, जब पानी पर्न छाड्यो, किरा लागेर पुरै डढेको जस्तो देखिन थाल्यो ।’ प्राविधिक ज्ञानको अभावले गर्दा यहाँका किसानले किराको संक्रमण नियन्त्रण गर्न सकेका छैनन् । ‘किरालाई कसरी नियन्त्रण गर्न सकेनौ, एक दुई जनाले किरा मारेर सम्भव पनि भएन,’ उनले सुनाए । किरा लागेर धान सखाप हुन लाग्दा पनि कृषि प्राविधिकले कुनै चासो नदिएको उनको गुनासो छ । समयमा पानी नपर्दा बल्लतल्ल रोपेको धानलाई स्याहार्ने बेलामा किराले नोक्सान गरेपछि हिरमिनियाका अर्का किसान राधेश्याम मौर्य निकै चिन्तित छन् ।
करिब ४ विघा खेतमा लगाएको धानलाई किराले पुरै नष्ट गरिदिएको उनले बताए । ‘राम्ररी हुर्केको धानमा अचानक किरा लागेर खतम बनायो,’ राधेश्यामले भने ‘धान रोप्दा पानी नपाएर समस्या भयो, त्यति मेहेनत गरेर हुर्काएको धानमा किराले सतायोे,’ उनले दुखेसो पोखे । किरा मार्ने प्राविधिक ज्ञान आफुसँग नभएकाले बढी क्षति ब्यहोर्नु परेको राधेश्यामले बताए । यो समस्या हिरमिनियाका किसानको मात्र नभएर जिल्लाको अधिकांस ठाउँका किसानका लागि चिन्ताको विषय बनेको छ । धानमा किराको महामारी फैलिएपनि कृषि विकास कार्यालयले नियन्त्रणमा चासो नदिएको किसानको गुनासो छ । ‘कृषि प्राविधिकले किटनासक औषधी छरेर किरा मार्न मात्रै सल्लाह दिए, किरा कसरी मार्ने भन्ने कुरा सिकाएनन र औषधिको व्यवस्था पनि गरेनन,’ किसानले भने ।
यता उदयपुर कृषि सेवा केन्द्रका प्रमुख तथा कृषि प्राविधिक सहायक निर्मल रेग्मीले पानी नपरेका कारण बाँकेमा यसवर्ष अधिकांस ठाउँमा धानबालीमा किराको महामारीले नोक्सानी पुगेको बताए । ‘पात बेरुवा र पतेरो किराको आक्रमणले गर्दा धानबालीमा धेरै नोक्सानी ग¥यो,’ उनले भने । किरा लागेर धानमा नोक्सानी पुगेपछि किसानहरु चिन्तित भएको रेग्मीले बताए ।

Womui
Womui