तिहारका लागि चिनियाँ सामान आजदेखि भित्र्याइँदै

34

रसुवा, कात्तिक १६

नेपालीको दोस्रो ठूलो चाड तिहारका लागि स्थानीय व्यवसायीले चीनबाट पहिलो खेपमा सोमबार (आज)देखि स्याउ नेपाल भित्र्याउने तयारी गरेका छन् । नेपालमा भित्र्याउने स्याउ केरुङसम्म आइपुगेको र नेपाली कन्टेनरले सोमबार रसुवागढी नाकाबाट नेपाल भित्र्याउने तयारी भएको नेपाल–चीन केरुङ व्यापार संघका सचिव मुकुन्द पौडेलले जानकारी दिए । यस्तै, नेपाली व्यापारीले आयात गरेका चिनियाँ सामग्री चीनको सिगात्सेबाट केरुङतर्फ आउनेक्रम सुरु भएकाले काठमाडौँको बजारमा तयारी कपडासमेत विविध सामग्री तिहारभन्दा अगाडि लगभग १०० कन्टेनर भित्रिने समेत सचिव पौडेलले जानकारी दिए । रसुवागढी नाका खुलेपछि सीमानजिक टिमुरे क्षेत्रमा चहलपहल ह्वात्तै बढेको छ । नेपाल–चीन सीमा क्षेत्रका बासिन्दाका लागि दिइने स्थायी परिचयपत्र लिनका लागि स्थानीय बासिन्दा दिनहुँ भीड लाग्न थालेको अध्यागमन कार्यालय, टिमुरेले जनाएको छ । भूकम्पपछि सडक अवरुद्ध भई बेरोजगार बनेका स्थानीय बासिन्दा सडक खुलेपछि प्रफुल्लित भई आफ्नो नियमित व्यापार व्यवसाय अगाडि बढाइसकेको टिमुरे गाविसले जनाएको छ । यसैगरी, चीनबाट नेपाल आयात भएको पेट्रोलियम पदार्थ बोकेका नेपाल आयल निगमका १२ वटा ट्यांकर सोमबार बिहान टिमुरेबाट काठमाडौं पठाइने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चीनले नेपाललाई दिएको अनुदानको पेट्रोलियम पदार्थको भन्सार महसुलबापतको शुल्क तीन करोड ६४ लाख रुपैयाँ नेपाल आयल निगमले भन्सार कार्यालयलाई बुझाइसकेको भन्सार अधिकृत श्याम बस्नेतले जानकारी दिए । रासस

 

Womui
Womui