मुलुकले आज दोस्रो राष्ट्रपति पाउने

134

काठमाडौं, कात्तिक ११–
मुलुकले आज दोस्रो राष्ट्रपति पाउने भएको छ । दोस्रो राष्ट्रपति चयनका लागि बुधबार आज व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । बिहान ११ बजेदेखि २ बजेसम्म राष्ट्रपति उम्मेदवारका लागि मतदान हुने कार्यतालिका छ । व्यवस्थापिका संसदमा कायम रहेका सांसदमध्ये ३०१ मत ल्याउने उम्मेदवार विजयी हुनेछन् । अन्य प्रमुख पदका लागि व्यवस्था नभए पनि राष्ट्रपतिको चयन भने गोप्य मतदानद्वारा गरिनेछ ।
राष्ट्रपति पदमा सत्तारुढ गठबन्धनबाट एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दल कांग्रेसबाट केन्द्रीय सदस्य कुलबहादुर गुरुङ प्रतिस्पर्धामा छन् । भण्डारी र गुरुङसँगै मंगलबार उम्मेदवारी दर्ता गराएका नेमकिपाका नारायण महर्जनले उम्मेदवारी फिर्ता लिएपछि मैदानमा भण्डारी र गुरुङ मात्र छन् । बहुमतीय आधारमा हुने मतदानबाट भण्डारी निवार्चित हुनेमा एमालेसहित सत्तारुढ पंक्ति ढुक्क देखिन्छ ।Sital Nibas
सत्तारूढ दलका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीले व्यवस्थापिका संसदको कार्यातालिका अनुसार राष्ट्रपति पदमा सुरुमै उम्मेदवारी दर्ता गराएकी थिइन् । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेर नेत्री भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन् । उनको उम्मेदवारी दर्ता कार्यक्रममा दाहाल र थापासहित माधवकुमार नेपाल, नेता दीपक बोहोरा, चित्रबहादुर केसीलगायत सत्तारूढ गठबन्धनका प्रमुख नेता र प्रमुख सचेतकको उपस्थिति थियो । राष्ट्रपति पदका लागि महिला उम्मेदवार बनेको यो पहिलोपटक हो ।
व्यवस्थापिका संसदभित्र प्रतिनिधित्व गर्ने १४ भन्दा बढी दलले भण्डारीको उम्मेदवारीमा समर्थन जनाएका छन् । ५४ वर्षीया नेत्री भण्डारी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीकी पत्नी हुन् । काठमाडौं–१ का तत्कालीन सांसद मदनको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएपछि उप–निर्वाचनमा विद्या भण्डारीले नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेकी थिइन् । उनी सातौं र आठौं दुवै महाधिवेशनबाट निर्वा्चित पार्टी उपाध्यक्ष समेत हुन् । भण्डारी हाल समानुपातिकतर्फबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्छिन् । दोस्रोपटक हुन लागेको राष्ट्रपति निर्वाचनमा विजयी भए नेत्री भण्डारी पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।
अर्का उम्मेदवार गुरुङलाई आफ्नै पार्टी कांग्रेसको मात्रै समर्थन छ । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल कांग्रेसले आफ्ना दुई महामन्त्री प्रकाशमान सिंह प्रस्तावक र कृष्णप्रसाद सिटौला समर्थक रहेर गुरुङको उम्मेदवारी दर्ता गराएको हो । प्रधानमन्त्री निर्वाचनमा कांग्रेसलाई सहयोग गरेका तराई–मधेसकेन्द्रित दलले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेकाले कांग्रेस एक्लो हुने सम्भावना देखिन्छ । ४५ वर्ष उमेर पुगेको तथा निवार्चित र राजनीतिक निर्णयबाट मनोनीतसहित सरकारी लाभको पद नलिएकाले राष्ट्रपतिका लागि उम्मेदवारी दिन सक्ने कानुनी व्यवस्था छ ।

Womui
Womui