पेट्रोलियम पदार्थ पाउनै कठिन

160

नेपालगन्ज, असोज १६
नेपालगन्जमा पेट्रोलियम पदार्थ पाउनै कठिन भएको छ । आपुर्ती असहज हुँदा कठिन भएको हो । भारतले अघोषित नाकाबन्दी गरेको एक हप्ता बढी समय भइसक्दा पनि सहज रुपमा पेट्रोलियम पदार्थ भित्रिन सकेको छैन । भारतीय सिमा सुरक्षाबल एसएसबीले अझैपनि पेट्रोलियम पदार्थ बोकेका ट्यांकर प्रवेशमा रोक लगाएको छ । भारतको अवरोधका कारण अहिले पनि रुपैडिहामा दर्जनौं ट्यांकर अलपत्र अवस्थामा छन् ।

भेरी प्राविधिक शिक्षालय चोक अगाडी रहेको पम्पमा लाईन लागेका सवारी साधन । तस्बिर :  विजय मल्ल
भेरी प्राविधिक शिक्षालय चोक अगाडी रहेको पम्पमा लाईन लागेका सवारी साधन ।          तस्बिर : विजय मल्ल

ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार शुक्रबार १२ वटा पेट्रोलियम ट्यांकर नेपालगन्ज नाका प्रवेश भएका छन् । यसमध्ये ८ वटा डिजल र ४ वटा एलपी ग्याँसका बुलेट रहेका छन् । एसएसबीले यि सवारी साधनलाई एक हप्ता अघिदेखि सिमा प्रवेशमा रोक लगाउँदै आएको थियो । यसअघि बिहीबार उक्त नाकाबाट १३ वटा ट्यांकर भित्रिएका थिए ।  नेपालगन्जमा पेट्रोलियम पदार्थ सहज रुपमा आउन नपाएपछि उपभोक्तालाई पेट्रोल र डिजल पाउन समस्या हुने गरेको छ । यहाँका डिजल र पेट्रोल पम्पमा तेल भर्ने सवारी साधनको घण्टौं सम्म लाईन लाग्ने गरेको छ । यसले गर्दा उपभोक्ताले निकै सास्ती खेप्नु परेको छ । नेपालगन्ज–१६ कोरियनपुर निवासी रामचन्द्र श्रेष्ठले पेट्रोलियम पदार्थ नपाउँदा समस्या भइरहेको गुनासो गरे ।

‘पेट्रोल नपाएर हैरान भइसक्यो, जुन पम्पमा जादाँ पनि घण्टौ समय लाईन लाग्नुपर्छ,’ उनले भने । केन्द्रको निर्देशनमा भारतीय सिमा सुरक्षा बल एसएसबीले अन्य सामानको तुलनामा पेट्रोलियम पदार्थका ट्यांकरलाई प्रवेशमा रोक लगाएको पाइएको छ । कुहिने खालका सामान आलु, प्याज, फलफुल बोकेका सवारी साधन सहज रुपमा सिमा प्रवेश भइरहेको प्रहरीले जनाएको छ । भारतीय पक्षले नाकालाई बाहिरी रुपमा खुकुलो पारेजस्तो गरेपनि पेट्रोलियम पदार्थ ढुवानीमा भित्रि रुपमा कडाई गरिरहेको नेपाल आयल निगमका अधिकारीले बताएका छन् ।

Womui
Womui