बाघको आक्रमणबाट फत्तेपुरमा एकको मृत्यु

47

नेपालगन्ज– बाँकेमा फेरि बाघको आक्रमणमा परी एक जनाले अनाहकमा ज्यान गुमाएका छन् ।  राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरमा बाघको आक्रमणबाट सोही वडा निवासी ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो ।

चलाउनेलाई शनिबार बिहान बाघले आक्रमण गरी मारेको हो । यस अघि पनि वडा नम्बर ६ कै २९ वर्षीया चाँदनी थारु र राप्ती सोनारी ४ पर्सोना निवासी ५३ वर्षीया लिला बिष्टलाई पनि बाघले आक्रमण गरी मारेको थियो ।

बाघले शनिबार बिहान फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वन अन्तर्गत पर्ने सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरको छेउमा ६० वर्षीय चलाउनेलाई आक्रमण गरेको राप्ती सोनारी ६ का स्थानीय बासिन्दा प्रदिप पौडेलले जानकारी दिए । उनका अनुसार बाघले चलाउनेलाई करिब ५ सय मिटर जंगल भित्र लगेको थियो ।

गाउँबाट ठूलो संख्यामा गाउँलेहरु पुगेपछि बाघले शवलाई छाडेर भागेको थियो । सामुदायिक वन समूहले उपभोक्ताका लागि शनिबार दाउरा, घाँस खोलेको थियो । दाउरा, घाँस काट्नका लागि सामुदायिक वन क्षेत्रमा करिव २५/३० जनाको संख्यामा शनिबार बिहान जंगलमा गएका थिए । बाघलाई देखेपछि केहीले रुखमा चढेर ज्यान जोगाउन सफल भएको बताइएको छ ।

Womui
Womui