डुडुवामा एसइई पास गरेका १ सय २२ छात्राले पाए साइकल

68

नेपालगन्ज– डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत एसइई पास गरेका छात्राहरुलाई साइकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साइकल वितरण गरिएको हो ।

विक्रम संवत् २०७७ सालमा एसइई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई साइकल वितरण गरिएको हो । शनिबार एक समारोहका बीच साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेका भन्दै भोलिका दिनमा उच्च शिक्षा हासिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताए ।

उनले विशेष गरी मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताए । अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवामै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षा हासिल गर्ने विश्वास व्यक्त गरे ।

गाउँपालिका अन्तर्गत ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्राले २०७७ सालमा एसइई पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपूर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरवृद्धि गरी मावि बनाइएको छ ।

Womui
Womui