भलिबल खेलाडीलाई जनही पाँच लाख नगदसहित सम्मान

39


नेपालगन्ज– नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका छन् ।

गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा सञ्चालन भएको प्रतियोगितामा नेपाली महिला टोलीले उपाधि जितेको थियो । नेपालले उपाधि जितेलगत्तै युवा तथा खेलकुद मन्त्री अथकले नगद पुरस्कारको घोषणा गरेका थिए । मन्त्री अथककै पहलमा पौष १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि बिजेता टिमका १२ खेलाडीहरुलाई जनही ५/५ लाख, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेकोे थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै सरकारले शुक्रबार खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई प्रमाण पत्र तथा नगद पुरस्कारले सम्मान गरेको हो ।

सम्मानित हुने खेलाडीहरुमा कप्तान अरुणा शाही, मनिषाकुमारी चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, उषा भण्डारी, प्रतिमा माली, सलिना श्रेष्ठ, सरस्वती चौधरी, सुनिता खड्का, सफिया पुन, कृपा अधिकारी र शान्तिकुमारी थारु छन् । त्यसैगरी प्रमुख प्रशिक्षक जगदिशप्रसाद भट्ट र प्रशिक्षक भरत यादव तथा व्यवस्थापक ज्योति केसीलाई समेत सम्मान गरिएको छ ।

Womui
Womui