हुन्न र सकिन्न भन्ने सोच बदलौंः प्रशिक्षक पौडेल

141

नेपालगन्ज– स्प्रिङ डेल एकेडेमी नेपालगन्जले विद्यार्थीलाई सकारात्मक सोचबारे प्रशिक्षण दिएको छ । विद्यालयले सोमबार नेपालगन्जको मेरो प्लानेट फनपार्कमा आयोजना गरेको ‘रिप्रोग्राम युअर माइण्ड, रिडिजाइन युअर लाइफ’ विषय मोटिभेसनल कार्यक्रममा माध्यमिक तहका विद्यार्थीलाईसकारात्मक सोच सम्बन्धी प्रशिक्षण दिएको हो ।

कार्यक्रममा काठमाडौंबाट आएका मोटिभेसनल स्पिकर तथा सकारात्मक सोच अभियन्ता प्रितम पौडेलले सकारात्मक सोचले विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी बनाएर भविष्यको लक्ष्य निर्धारणबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक पौडेलले हुन्न र सकिन्न भन्ने सोचाइलाई बदलेर हुन्छ र सक्छु भन्ने धारणालाई आत्मसात् गर्न विद्यार्थीलाई उत्प्रेरित गरे । ‘हाम्रो दिमाखमा नकारात्मकताको प्रवाह मात्र छ । धेरै विद्यार्थीमा सकारात्मक बानी कम छन् । जिम्मेवार विद्यार्थी कम छन् । आफ्नो काम आफै गर्दैनन् । मेरो जीवन बनाउने काम मेरो जिम्मेवारी हो । अहिले मैले जे गरिरहेको छु । यसले नै मेरो भविष्य निर्धारण गर्छ भनेर बुझ्ने विद्यार्थीको संख्या निकै कम छ’, उनको जोड थियो, ‘विद्यार्थीकोे राम्रो बानीले राम्रो जीवन बन्छ । विद्यार्थी जीवनदेखि नै लक्ष्य निर्धारण गर्न सकेमा भविष्यमा सुन्दर बन्नसक्छ ।’

अनलाइन कक्षापछि विद्यार्थी मोबाइल, ल्यापटप जस्ता ग्याजेटमा बढी समय बिताइरहेका छन् । विद्यार्थीका लागि मोबाइल लगायतका डिभिजटल डिभाइसकोसही सदुपयोग गर्न र यसको कुलतबाट जोगिनुपर्ने भन्दै यसको लाभ र हानीबारे उनको सुुझाव थियो, ‘दैनिक औसत ३० मिनेटदेखि ४५ मिनेट भन्दा बढी समय डिजिटल डिभाइस प्रयोग गर्नु विद्यार्थीका लागि हानिकारक भएको विभिन्न अध्ययनले देखाएको छ ।’ विद्यार्थीले कसरी लक्ष्य निर्धारण गर्ने भन्नेबारे उहाँको भनाइ छ, ‘हाइस्कुलदेखि नै लक्ष्य निर्धारण नहुँदा पढेर पनि विद्यार्थी हराउँछन् । रियल इनर्जी उसको लक्ष्यले दिन्छ । जसले स्पष्ट लक्ष्य निर्धारण गर्छ । ऊ गन्तव्यमा सहजै पुग्छ । जीवनमा हौसला र सफलता नै उसको लक्ष्यले गर्छ ।’ विगतमा अभिभावकको लक्ष्य र विद्यार्थीको लक्ष्य बाझिने हुँदा समस्या थियो । अहिले अभिभावकले सन्तानको लक्ष्य अनुसार अघि बढ्न दिन्छन् । सही लक्ष्य निर्धारण नगरेका कारण विद्यार्थी बरालिएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘स्कुलमा पढेको बाहेक धेरै विद्यार्थीलाई घरमा पढ्ने बानी छैन । धेरैले पढेको कुरा दोहोराउँदैनन् । कोर्ष बुक मात्र पढ्छन्’, प्रशिक्षक पौडेलले स्मरण शक्ति बढाउने तरिका सिकाउँदै भन्छन्, ‘नियमित रुटिन बनाएर पढ्नुस् । अनलाइन गेम र सोसल मिडियामा कम समय दिनुस् । बरु पव्लिक स्पिकिंग र पावर प्वाइन्ट प्रस्तुतीकरण गर्ने जस्ता रचनात्मक क्रियाकलापमा व्यवस्थित रुपमा गर्नुस् । लक्ष्यमा सहजै पुग्न सकिन्छ । अन्यथा दैनिक जीवन व्यवस्थित नहुँदा कुलतमा जाने, डिप्रेसनमा जाने र खराब संगतमा जाने हुनसक्छ ।’

पौडेलले माध्यमिक तहका विद्यार्थीलाई लक्षित गरेर सकारात्मक सोचबारे काठमाडौं लगायत देशका ४५ भन्दा बढी जिल्लामा प्रशिक्षण दिइकेका छन् । हरेक वर्ष सरदर १५ हजार भन्दा बढी विद्यार्थी र १० हजार भन्दा बढी अभिभावक समक्ष कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी दिए । ‘सकारात्मक सोचको प्रशिक्षणमा भएका विद्यार्थी आफ्नो जीवन आफै व्यवस्थित गर्छन् । पढाइमा सुधार आएको छ । पढ्ने बानीको विकास भएको छ’, पौडेलले दाबी थियो ।

सकारात्मक सोचबारे विद्यार्थीका लागि कार्यक्रम आयोजना गर्ने स्प्रिङ डेल एकेडेमी नेपालगन्जको पहिलो विद्यालय हो । २०६२ सालमा स्थापना भएको स्प्रिङ डेलमा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीको अध्ययन हुन्छ । सोमबार कक्षा ६ देखि १२ कक्षासम्मका २८० जना विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर कार्यक्रम आयोजना गरिएको हो । स्प्रिङ डेल ब्रिटिस काउन्सिलको इन्टरनेशनल अवार्ड प्राक्टिसनर विद्यालय हो । बेलायतका इन्टु फिल्मको सहकार्यमा ब्रिटिस काउन्सिलको आयोजनामा विद्यालयका १५ जना विद्यार्थीले फिल्म मेकिङतालिम लिएका छन् । उनीहरु आफै स्कृष्ट लेख्छन् । भिडियो खिच्छन् । भिडियो सम्पादन गरेर डकुमेन्ट्री बनाउँछन् । विद्यार्थीले निर्माण गरेकाडकुमेन्ट्रीले राष्ट्रिय प्रतियोगितामा पुरस्कार जितेको प्राचार्य शरदचन्द रावलले बताए ।

यो विद्यालय प्रविधिमैत्री छ । हरेक कक्षा कोठामा प्राजेक्टर र इन्टरनेट जोडिएको छ । शिक्षकले भिडियो देखाउने र अडियो सुनाएर पढाइन्छ । प्राचार्य शरदचन्द रावल भन्छन्, ‘हाम्रो विद्यालय बालमैत्री छ । हामी विद्यार्थीलाई आदेश होइन, हौसला दिन्छौं । विद्यार्थीलाई आज्ञाकारी भन्दा जिम्मेवार बन्न प्रेरित गर्छौ । पाठ्यपुस्तककोे ज्ञान, सीप र व्यवहार तीनै पक्षलाई जोड दिएर जीवनोपयोगी शिक्षा दिन्छौं ।’

शिक्षण सिकाइमा पाठ्यक्रम र दीगो विकास लक्ष्यका आधारमा विद्यालयका क्रियाकलाप गरिने उहाँले प्रष्ट पारे । निजी विद्यालय भन्दैमा अंग्रेजी भाषाको विद्यालय भन्ने बुझाइ छ । सामान्यतः अंग्रेजी र कम्प्युटर शिक्षा देखाएर निजी विद्यालयमा पढाइन्छ । तर यो विद्यालयमा अंग्रेजी बोल्नुलाई बाध्यकारी बनाएको छैन । ‘विद्यार्थीले कक्षाकोठामा आफूले बोल्ने भाषामा अन्तरक्रिया नगरेसम्म सुनेको कुराको अर्थ लगाउन सक्दैन । हामीले विद्यार्थीलाई आफूले बोल्ने भाषामा प्रश्नोत्तर गर्न छुट दिएका छौं । हामी कक्षाकोठामा भाषिक अवरोध गर्दैनौं’, उनले प्रष्ट पारे । विद्यालयले अतिरिक्त क्रियाकलापमा जोड दिन्छ । जिल्लामा पौडीमा यो विद्यालयनम्बर १ हो । विद्यार्थीले राष्ट्रिय स्तरको पौडी प्रतियोगितामा गोल्ड मेडल ल्याएका छन् । ८औं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिएका थिए । इको क्लब गठन गर्ने नेपालगन्जको पहिलो विद्यालय हो । विद्यालय इको फ्रेन्डली पनि छ । जहाँ फोहरलाई मोहर बनाइन्छ । विद्यालयमा विरुवा संरक्षण (फल, फूल र रुखहरु) गरिएको छ । इको क्लबले चाँडै नै बाँके निकुञ्जमा फलफूल तथा काठजन्य बिउ छर्ने कार्यक्रम पनि रहेको रावलले योजना सुनाए । विद्यालयमा नेपाल सरकारद्वारा मान्यता प्राप्त पिटी हरेक दिन ३० मिनेट गराइन्छ । विद्यालयका असल अभ्यास हेर्न शिक्षामा चासो राख्नेहरु आउँछन् । अहिले काठमाडौंको सेन्ट जेभियर्सका १५ जना विद्यार्थी अहिले ५ दिने अध्ययन भ्रमणमा आएका छन् ।
संस्थागत विद्यालयले शिक्षक र अभिभावकमा लगानी गर्दैन तर यो विद्यालयले शिक्षकहरुलाई सकारात्मक सोच, पाठ्यक्रम र प्रविधिका विषयमा तालिम दिन्छ ।’ विद्यालयले विद्यार्थीलाई रचनात्मक क्रियाकलापमा सहभागी गराउने मात्र होइन बेलाबेलामा सकारात्मक सोच, शिक्षण सिकाइ र अभिभावकको भूमिकाका विषयमा हरेक वर्र्ष प्यारेन्टिङ प्रोग्राम आयोजना गरिरहेको छ । अभिभावक लक्षित कार्यक्रम गर्ने सम्भवतः जिल्लाकै पहिलो विद्यालय भएको प्राचार्य रावल दाबी गर्छन् । प्राचार्य रावलले भविष्यको सपना सुनाए, ‘हाम्रो विद्यालयलाई मल्टिपल इन्टिलिजेन्ट क्लब बनाउने छ । जुन विद्यार्थीको जे क्षमता छ, त्यही विषयको कक्षा हुनेछ । यो भविष्यमा लागू गर्छौ ।’

Womui
Womui