लुम्बिनी प्रदेश सरकारद्वारा स्वास्थ्यकर्मी कटौती गरिँदै

40

नेपालगन्ज–लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको संख्या कटौती गर्ने भएको छ । कोरोना संक्रमण दर घट्दै गएपछि अस्थायी दरबन्दीमा भर्ना भएका अधिकांश स्वास्थ्यकर्मीको दरबन्दी नवीकरण नगरिने भएको हो ।

तर कर्मचारी कटौतीको अख्तियारी भने अस्पताललाई दिइएको लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास आचार्यले स्वास्थ्य पेजलाई जानकारी दिए । कोरोना महामारीकै लागि अस्थायीरुपमा भर्ना गरिएका कर्मचारी संक्रमण दर घट्दै गएपछि कटौती गर्नु स्वभाविक प्रक्रिया भएको पनि उनको भनाइ छ ।
कोरोना संक्रमणको दर, अस्पतालमा बिरामी भर्ना दरलगायतको मूल्याङ्कन गरेर अस्पताललाई स्वास्थ्यकर्मी संख्या कटौती गर्न भनिएको पनि उनले बताउनुभयो ।
प्रदेश सरकारले पहिलो र दोस्रो महामारीमा प्रदेशका चारवटा कोरोना विशेष अस्पतालमा ५ सय ८३ जना स्वास्थ्यकर्मी भर्ना गरेको थियो ।

भेरी अस्पताल नेपालगन्ज, कोरोना विशेष अस्पताल बेलझुण्डी दाङ, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा अस्थायी दरवन्दी सिर्जना गरेर प्रदेश सरकारले विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, स्टाफनर्स, ल्याव टेक्निसियन, सरसफाइकर्मी भर्ना गरेको थियो । भेरी अस्पतालमा मात्रै १ सय ५३ जना स्वास्थ्यकर्मी भर्ना भएका थिए ।

Womui
Womui