महिलाहरु अधिकारबारे सचेत हुँदै

40

भगीरथ अवस्थी
बैतडी, भदौ २९

जिल्लाका विभिन्न गाविसमा सञ्चालनमा रहेका महिला जागरण केन्द्रमा आवद्ध महिलाहरु आफ्ना अधिकारका सचेत हुन थालेका छन् । जिल्लाको दुर्गास्थान गाविस वडा नं २ कपडतमा सञ्चालनमा रहेको उदयदेव सामुदायिक सशक्तीकरण केन्द्रका सहभागीहरुले परिषदबाट महिला लक्षित बजेट छुट्याएर गाउँ घर क्लिनक बनाएको बताएका छन् । आफूहरुले केन्द्रमा आवद्ध भएपछि महिला लक्षित बजेटको बारेमा थाहा पाएको सो केन्द्रका सहभागी शोभा ओडले बताइन् । आफूहरु केन्द्रमा सहभागी भए पछि परिषदमा समेत सहभागी हुन थालेको उनले खुलाइन्। सामुदायिक सशक्तीकरण केन्द्रमा महिला हिंसा न्यूनीकरण,व्यक्तिगत घटना दर्ता, वातावरण संरक्षण,सरसफाइलगायतका विषयमा छलफल हुने भुमेश्वर सामुदायिक विकास संघ बिसीडिओका सामाजिक परिचालक बसन्ती चन्दले बताइन् । भुमेश्वर सामुदायिक विकास संघले रौलेश्वर, गाँजरी, सिद्धेश्वर, सिद्धपुर, दुर्गास्थान, सलेना, कैलपाल र पाटन नगरपालिकाका विभिन्न वडामा त्यस्ता सशक्तीकरण केन्द्रहरु सञ्चालनमा ल्याइएको कार्यक्रम संयोजक गणेश भट्टले जानकारी दिए । युरोपियन कमिसन तथा एक्सन एड नेपालको सहयोगमा भुमेश्वर सामुदायिक विकास संघ बिसीडिओले सशक्तीकरण तथा लोकतन्त्र परियोजना अन्तर्गत गठन गरेका सशक्तीकरण केन्द्रमा आवद्ध महिलाहरु आफ्ना हक अधिकारका बारेमा पैरवी गर्न थालेका हुन् ।

Womui
Womui