कोरोना रोकथामका लागि नरैनापुरले गर्‍यो यस्तो निर्णय

111

नेपालगन्ज–बाँकेको नरैनापुरमा विपत व्यवस्थापन समिति (विव्यस) को बैठकले कोभिड–१९ रोकथामका लागि महत्वपूर्ण निर्णय गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै समितिले आदर्श माविमा २५ वेडको आइसोलेसन सञ्चालन गर्ने, आइसोलेसनका लागि बेड, अक्सिजन, डस्टविन, लत्ता कपडालगायतका आवश्यक सामग्री खरिद गर्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवले जानकारी दिए ।

प्रमुख यादवका अनुसार गाउँपालिकामा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै जिम्मेवारी बाँडफाँड गर्ने छलफलसमेत बैठकमा भएको बताए । सामाजिक स्तरमा कोरोना भाइरसको जोखिम बढेकाले सरकारद्वारा जारी गरिएको स्वास्थ्य मापदण्ड अपनाएर आफू पनि बच्ने र अरुलाई पनि बचाउने जिम्मेवारी सबैको भएको बताउँदै प्रमुख यादवले अनावश्यक रुपमा घर बाहिर निस्कन, कोरोना संक्रमणको शंका लागे तत्काल आफूलगायत स्वास्थ्यकर्मीलाई जानकारी गराउन गाउँपालिकावासीलाई आग्रह गरेका छन् ।

हाल लक्ष्मणपुर स्वास्थ्य केन्द्रको आइसोलेसनमा २ महिला र ९ पुरुष गरी ११ जना उपचाररत छन् भने ४ महिला र १३ पुरुष होम आइसोलेसनमा बसेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र शर्माले जानकारी दिए । त्यस्तै उपचारका क्रममा भेरी अस्पतालमा एकको मृत्यु भएको जानकारी दिँदै प्रमुख शर्माले गाउँपालिकावासीमा कोरोना भाइरसलाई ख्याल ठट्टाको रुपमा नलिएर निषेधाज्ञा लगायत सरकारद्वारा जारी स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्नेमा जोड दिए ।

प्रमुख शर्माले आइसोलेसनमा १७ सिलिन्डर रहेको र संक्रमितको संख्यालाई मध्यनजर गर्दै थप अक्सिजन सिलिण्डर थप गर्न लागेको बताउँदै गाउँपालिकावासीलाई संक्रमित भइहाले पनि नआत्तिन आग्रह गरेका छन् । उनले दुई डाक्टरलगायतको स्वास्थ्यकर्मीको टिम चौबीसै घण्टा डिउटीमा खटिएको बताउँदै आइसोलेसनमा उपचार हुन नसकेका संक्रमितलाई एम्बुलेन्समार्फत भेरी अस्पताल पठाउने व्यवस्थासमेत गरिएको जानकारी दिए ।

Womui
Womui