घरदलोमै व्यक्तिगत घटना दर्ता !

161

बाँके (डुडुवा)– बाँकेको डुडुवा गाउँपालिकाले घरदैलोमै पुगेर व्यक्तिगत घटना दर्ता गरिरहेको छ । गाउँपालिकाका अनुसार कुनै पनि नागरिकले सेवाबाट वञ्चित नहुन र समयमा नै घटना दर्ता गर्ने बानीको विकास गर्ने उद्देश्यले घरघरदैलोमै पुगेर घटना दर्ताको विवरण संकलन सुरु गरिएको हो ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गत डुडुवा गाउँपालिकाद्वारा सुरु गरिएको व्यक्तिगत घटना दर्ता शिविरको वडा नम्बर २ बाट गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शुभारम्भ गरेका छन् । शुभारम्भ गर्दै अध्यक्ष चौधरीले गाउँपालिकाका कुनै पनि नागरिकलाई सेवाबाट वञ्चित हुन नदिन र घरघरमा सिंहदरबारको सेवा पु¥याउने लक्ष्य अनुसार घरदैलो अभियान सुरु गरिएको बताए । अध्यक्ष चौधरीले भने, ‘हाम्रो मधेशी समुदायमा अशिक्षाको कमी छ, काम लागेमा मात्र कागजात बनाउने परम्परा रहेको छ, त्यसको अन्त्य गरी जस्ता सुकै घटना दर्ता समयमै गराउनु पर्छ भन्ने सचेतना अभिवृद्धि गराउन घरदैलो अभियान सुरु गरेका छौं ।’ अध्यक्ष चौधरीले यो अभियानसँगै केही दिनभित्रै जग्गाको मालपोत कर पनि घरदैलो अभियानमार्फत् संकलन गर्ने तयारी भइरहेको जनाए ।
शिविरमा गाउँपालिकाबाट वडा सचिवसहितको करिब ४२ जना जनशक्ति परिचालन गरिएको पालिकाका एमआइ अपरेटर कौशलकुमार कैरातीले जानकारी दिएका छन् । उनका अनुसार प्रत्येक घरमा पुगेर घटना दर्ताका लागि विवरण संकलन गरी प्रमाणपत्र तयार गरेर फेरि घरमै पु¥याइने छ ।
गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म करिब १० हजार घरधुरीमा घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह र बसाइँसराइलगायतका घटना दर्ताका लागि विवरण संकलन गरिने वडासचिव शिवकुमार मौर्यले बताए ।

Womui
Womui