राप्तीसोनारी–६ को कार्यसम्पादन आफ्नै भवनबाट सुभारम्भ

58

राप्तीसोनारी(फत्तेपुर)–राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ वडा कार्यालयले आफ्नै भवनबाट कार्यसम्पादन सुरु गरेको छ । ४४ लाख रुपैयाँको लागतमा निर्मित अपाङ्गमैत्री भवनको मंगलबार उद्घाटन भएसँगै बुधबारदेखि वडाका कार्यसम्पादन आफ्नै भवनबाट सुचारु गरेको वडा नम्बर ६ का वडाध्यक्ष जनकबहादुर थारुले बताए ।

करिब चार वर्षसम्म भाडामा बसेर साघुँरो ठाउँबाट काम गर्नु परेको स्मरण गर्दै वडाअध्यक्ष थारुले वडा भवन निर्माणका लागि जग्गा दान गर्ने दातालाई वडाले सम्मान गर्ने प्रतिबद्धता जनाउँदै धन्यवाद दिएका छन् ।

वडा कार्यालय भवनका लागि श्री मटउ थारुको नेतृत्तवमा १–१ कठ्ठाका दरले १२ कठ्ठा जग्गा प्रदान गरेका छन् । श्री दाइको नेतृत्तव र आफ्नै सहकार्यमा जग्गा प्राप्त भएको जानकारी गराउँदै वडाध्यक्ष थारुले जग्गा नभएको भए पैसा भएर पनि भवन निर्माण गर्न वडा कार्यालय असमर्थ हुने बताए । वडा नम्बर ६ का हरेक बासिन्दाका लागि वडा कार्यालय भवन पायक पर्ने मध्यविन्दुमा स्थापना गरिएको वडाअध्यक्ष थारुले बताए ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवम् प्रमुख अतिथि लाहुराम थारूले भवन उद्घाटनका क्रममा गाउँपालिका अन्तर्गतका सबै वडाले अब आफ्नै कार्यालय भवनबाट सेवा सञ्चालन गर्ने बताए । छिट्टै वडा नम्बर ८ को वडा कार्यालय पनि आफ्नै भवनमा सञ्चालनमा आउने जानकारी अध्यक्ष थारुले दिए ।  गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ कार्यालय भाडामा सञ्चालन हुँदै आएका थिए ।

विकासे बजेट वडा कार्यालय निर्माणमा खर्च गर्नु पर्दा केही समस्या आएको बताउँदै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाको भवन टिनको घरबाट सञ्चालनमा आएपनि विकास बजेट खर्च गरेर गाउँपालिकाको भवन नबनाउने बताए । जबसँग संघ र प्रदेश सरकारबाट गाउँपालिका भवन निर्माणका लागि छुट्टै बजेट आउँदैन तबसम्म विकास बजेट गाउँपालिका भवन निर्माणमा नखर्चे अध्यक्ष थारुको भनाइ थियो । वडा कार्यालय भाडाका घरमा सञ्चालन हुँदा वडा कार्यालयको घर नबनाई नहुने भएकाले बजेट विनियोजन गरिएको भए पनि गाउँपालिकाका भवनका लागि भाडा नतिर्नु पर्ने भएकाले विकास बजेट त्यहाँ खर्च नगर्ने उनले बताए ।  

गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आफ्नै निर्माण उपकरण (ग्रेडर, रोलर) खरिद गरेका कारण आर्थिक भार कम भएको अध्यक्ष थारुले बताए ।

आफूले निर्वाचन ताका ८० प्रतिशत बाटो कालो पत्रे गर्ने प्रतिबद्धता गरेको सुनाउँदै अध्यक्ष थारुले आफूले गरेको प्रतिबद्धतामा खरा खत्रिएको बताए । गाउँपालिकाको विकासले बिस्तारै फड्को मार्दै गएको र विकासको सुरुवात भइरहेको धारणा उनको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिकाका धेरै बाटाहरु पिच भइसकेको बताउँदै चुनाव जित्ने वित्तिकै २०७४ को बाढीले सारा राप्तीसोनारीलाई बगाएका कारण धेरै बजेट त्यहाँ खर्च हुँदा सोचे जति विकास निर्माण हुन नसकेपनि २० वर्ष अगाडिको भन्दा अहिले विकास निर्माणका काम धेरै भएको बताइन् । उनले चुनावको बेलामा साइकलमा पनि जान नसक्ने बाटोमा अहिले गाडी चल्न पाएको बताइन् । ठेकेदारले बिद्युतीकरणको काम अलपत्र पारेर राप्तीसोनारीको वडा नम्बर ३ र ४ का बासिन्दालाई दुःख दिइरहेको भन्दै उपाध्यक्ष खत्रीले अलपत्र बिद्युतीकरणको काम सम्पन्न गर्न गाउँपालिकाले आफ्नो बजेट खर्चिरहेको जनाइन् ।

राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले वडा कार्यालय जनताको कामसँग प्रत्यक्ष जोडिएको बताउँदै हरेक कामको सिफारिस गर्दा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने सुझाव दिए । जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएको बताउँदै उनले वडावासीलाई कुनै पनि कामको प्रतिफल तुरुन्तै नखोज्न आग्रह गरेका छन् ।

नियम कानुनसँग बाँझिने कुरा सम्पादन गर्न समय लाग्ने भएकाले सेवाग्राहीले वडाबाट कुनै काम नभएको खण्डमा के कति प्रक्रियाले पुगेन  त्यसबारे खोजीनिती गर्नु पर्ने बताउँदै आत्तिएर वडा कार्यालयले काम गरिदिएन भन्ने खाले अनावश्यक कुरा गर्न नहुने बताए ।

उद्घाटन कार्यक्रमलाई राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष रामलखन थारु, वडानम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द दहित, नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का सभापति मदन बुढा र वडा नम्बर ६ का वडा सदस्य कुलबहादुर थारुले आआफ्नो धारणा राखेका थिए ।

Womui
Womui