भारतबाट फर्केका ब्यक्ति अबैध नाकाबाट धमाधम प्रवेश

227

नेपालगन्ज, चैत १८-
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ जारी राखेको छ । भारतसँग जोडिएका मुख्य नाकामा विशेष कडाई गरिएको छ । नेपाल र भारत दुबै देशमा लकडाउन लागु भइरहेका बेला भारतबाट फर्किएका नेपाली आउने क्रम भने अझै रोकिएको छैन । भारतका विभिन्न स्थानबाट नेपाल–भारत सिमानाका सम्म उनीहरु आएका छन् । स्थानीयका अनुसार नेपालगन्ज नाकामा मात्र भएर जिल्लाका अवैध नाकामा बाक्लो उपस्थिती छ । उनीहरुका लागि सरकारले समयमै निर्णय नगर्दा ‘संक्रमित’ नै नेपाल भित्रिने उच्च जोखिम रहेको स्थानीय बताउँछन् ।

बाँकेस्थित नेपाल–भारत सिमा नाका क्षेत्र ६५ किलोमिटर छ । खुल्ला सिमा भएका कारण जुनसुकै ठाउँबाट पनि मानिस सहजै नेपाल भित्रिन सक्छन् । जिल्लाको राधापुरदेखी नरैनापुरस्थित कटकुइयासम्म खुल्ला सिमाना छ । भारतबाट फर्किने ब्यक्तिलाई नेपालगन्ज नाकामा कडाई गरेपछि अधिकांसले नेपाल प्रवेश हुन अबैध नाका प्रयोग गरेको हुन सक्ने स्थानीयको आशंका छ । भारतको मुम्बई, दिल्ली लगायत स्थानबाट आएका ब्यक्ति जिल्लाको राप्तीपारी नरैनापुर गाउँपालिका अन्तर्गत पर्ने विभिन्न नाकाबाट प्रवेश गरेका छन् । अवैध नाकाबाट प्रवेश गरेका एक सय ५० जनालार्ई क्वारेन्टाइनमा राखिएको नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले जानकारी दिए । ‘नेपालगन्ज नाकाबाट प्रवेश हुन नपाएपछि नरैनापुरको नाकाबाट प्रवेश भएका छन्, त्यसरी प्रवेश भएर आएका ब्यक्तिलाई १४ दिनसम्म यही क्वारेन्टाइनमा राख्नेछौं,’ उनले भने ।
खुल्ला सिमा भएका कारण भारतबाट कोरोना भाईरस संक्रमित ब्यक्ति सहजै प्रवेश हुने जोखिम बढेको अध्यक्ष शाह बताउँछन् । जिल्लाको पुर्वी नाका नरैनापुरमा मात्र नभएर पश्चिम नाका साईगाउँ, राधापुर क्षेत्रबाट पनि मानिसहरु सहजै प्रवेश हुन सक्ने जोखिम रहेको स्थानीय बताउँछन् । भारतसँग सिमा जोडिएका जिल्लाका नाकामा नेपाली सुरक्षाकर्मीको उपस्थिती कम छ । जसले गर्दा भारतबाट नेपाल फर्किने ब्यक्ति सहजै प्रवेश गर्न सक्ने स्थानीयको भनाई छ । बरु उनीहरुलाई समयमै प्रवेश गराएर क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीय बताउँछन् ।
नेपाल–भारत सिमा नाका रुपैडिहा क्षेत्रमा अलपत्र परेका नेपालीलाई केहीदिन अघिसम्म सिमा प्रवेश गराएपनि विगत तीन दिनयता पुर्ण रुपले कडाई गरिएको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंह नेपालगन्ज प्रवेश हुन भनि भारतको विभिन्न स्थानबाट आएका करिव डेढ सय ब्यक्तिहरु दसगजापारी बसिरहेको बताए । ‘सिमापारी डेढ सयजति छन्, यताबाट भारततर्फ जाने ब्यक्ति पनि करिव ५० जना जति छन्,’ उनले भने ‘उनीहरुलाई के गर्ने भनेर हामी प्रक्रिया मिलाउँदैछौं ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्जस्थित नेपाल–भारत सिमानाका पुर्ण रुपमा बन्द रहेको बताए । ‘सिमाबाट कसैलाई पनि प्रवेश गराएका छैनौं, सिमा प्रवेश गराउने या नगराउने कुनै निर्णय भएको छैन,’ खड्काले भने ।

Womui
Womui