बाँकेको सियाराम चप्पल उद्योगमा आगलागी, १० करोडको क्षति अनुमान, एक कामदार घाइते

180

नेपालगन्ज– बाँकेको एउटा चप्पल कारखानामा आगलागी हुँदा लाखौंको क्षति भएको छ । घटनामा एक जना कामदार डढेर गम्भीर घाइते भएका छन्। जानकी गाउँपालिका–३ इन्द्रपुरस्थित जयश्री सियाराम कारखानामा मंगलबार राति करिब १२ बजेबाट शुरु भएको आगलागी नियन्त्रणमा लिन आठ घण्टा लागेको छ। त्यहाँ कार्यरत दिलीपकुमार चमार जलेर गम्भीर घाइते भएका छन्। उनको भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

 

बाँके र बर्दियाका ६ वटा दमकल, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेनाको प्रयासले आठ घण्टापछि मात्रै आगलागी नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । घटनामा उद्योगको कच्चा पदार्थ र उत्पादित सबैजसो सामग्री नष्ट भएको छ । अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको उक्त उद्योगले चप्पल, सरसफाइ ब्रस र पोछालगायतका सामग्री उत्पादन हुँदै आएको थियो । होली पर्वमा कामदार बिदामा रहेकाले कारखाना बन्द थियो।

घटनामा करिब १० करोड रुपैयाँ मूल्य बराबरको क्षति भएको सञ्चालक सिंहले बताएका छन्। क्षतिको यकिन विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ । विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । रासस

Womui
Womui