८० को मास्कलाई ४५० !

61

पोखरा÷नेपालगन्ज – कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ । मास्कको कालोबजारीका कारण पोखरा र नेपालगन्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन् । माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर बेच्न थालेका हुन् । कृत्रिम अभाव सिर्जना गरी महँगोमा मास्क बेचेर रातारात पैसा कमाउने व्यापारीको समूह यस धन्दामा लागेको छ ।


कास्की प्रशासनले पोखरामा गरेको बजार अनुगमनका क्रममा अस्वाभाविक मूल्य लिएर मास्क बिक्री गरिएको फेलापरेको छ। अस्वाभाविक मूल्यमा मास्क बेच्ने औषधि पसल सञ्चालकलाई कारबही गर्ने प्रशासनले जनाएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार अनुगमन टोलीले पोखराको अस्पतालचोकस्थित परी फार्मेसी, महेन्द्रपुलस्थित स्याङ्जा मेडिकल हल र पस्र्याङस्थित अतिश मेडिकल फर्मामा छापा मारेको थियो । अनुगमनका क्रममा ती औषधि पसलले १० रूपैयाँ मूल्य पर्ने मास्कलाई ३० र ८० रूपैयाँ पर्ने मास्कलाई चार सय ५० मा बिक्री गरेको पाइएको टोलीका एक सदस्यले बताए । ‘

अधिक मूल्य असुल्ने तीनवटै मेडिकल पसललाई प्रशासनमा हाजिर हुन निर्देशन दिएका छौं,’ ढकालले भने, ‘कालोबजार ऐनअनुसार ती मेडिकल सञ्चालकलाई कारबाही हुन्छ ।’ अनुगमन टोलीले ती पसल बन्द गराएको छ । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले औषधि पसलेले मास्कमा समेत कालोबजारी गरिरहेको बताए । ‘अभाव भएका बेला पाँच÷दस रूपैयाँ बढी मूल्य लिनु स्वाभाविक होला तर ८० रूपैयाँ पर्ने मास्कलाई चार सय ५० रूपैयाँमा बिक्री गरिएकोे छ,’ कोइरालाले भने, ‘यो त लुट नै भयो । अप्ठेरो परेका बेला सहज सेवा दिनुपर्नेमा कमाउने उद्देश्य राखेर मास्कको कालोबजारी गर्नु राम्रो होइन।’ अनुगमन टोलीले तीनवटा पसलबाट डेढ सयजति मास्कसमेत जफत गरेको उनले बताए ।

उनका अनुसार औषधि पसलेले आफन्त र चिनेजानेबाहेक अरूलाई मास्क बिक्री गर्नसमेत छाडेका छन्। अनुगमन टोलीका एक सदस्य आफैंले चार सय ५० रूपैयाँमा मास्क किनेका थिए। मास्क किनेको बिलसहित अनुगमन टोलीले ती पसलमा छापा मारेको थियो । प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले जनताले कोरोना भाइरस संक्रमणबाट बच्न मास्क किन्दा पसलेले अस्वाभाविक मूल्य लिएर बेचेकाले छापा मार्नुपरेको बताए । छापा मारिएका औषधि पसलले कति रूपैयाँमा मास्क किनेको भन्ने खुलाएका छैनन् ।

‘कति रूपैयाँमा खरिद गरेर बेचेको भन्ने अझै खुलेको छैन तर बिक्री मूल्य भने थाहा भएको छ,’ पौडेलले भने । यसैबीच कास्की प्रशासनले सूचना निकालेर भीडभाडमा नजान र अत्यावश्यकबाहेक मेला, सभा, सम्मेलनजस्ता कार्यक्रम नगर्न सबैलाई अनुरोध गरेको छ। कास्कीका अर्का सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले नागरिकलाई सूचित गर्न सूचनामार्फत भीडभाडमा नजान अनुरोध गरिएको बताए । ‘हामीले नागरिकलाई सचेत हुन भनेका छौं,’ उनले भने, ‘सचेत भए संक्रमणबाट बच्न सकिन्छ ।’

माग बढेसँगै बाँकेमा पनि मास्कको कालोबजारी सुरु भएको छ। बजारमा मास्कको मूल्य पहिलेको तुलनामा ह्वात्तै बढेको सर्वसाधारण बताउँछन् । ‘पहिले पाँचदेखि १० रूपैयाँमा सहजै पाइने मास्कलाई अहिले मेडिकल पसलेले बेच्न छाडिसकेका छन्,’ नेपालगन्जका एक सर्वसाधारणले भने, ‘मास्क किन्न जाँदा दिँदैनन्, कसैले दिइहाले पनि महँगो मूल्य लिन्छन् ।’ सर्वसाधारणबाट मास्कको कालोबजारी भएको गुनासो आएपछि बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले कालोबजारी गर्ने व्यापारीलाई ठाउँका ठाउँ कारबाही गर्ने बताएका छन् । ‘कसैले मास्कमा कालोबजारी गरेको सूचना पाए हामी ठाउँका ठाउँ कारबाही गर्छौं,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालयले करिब एक हजार थान मास्क ड्युटीमा खटिने प्रहरी कर्मचारीलाई उपलब्ध गराएको उनले बताए। नेपालगन्जमा कोरोना भाइरसका बिरामी फेला परेको निराधार हल्ला फैलाउनेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी पनि उनले दिए । बाँके जिल्ला प्रशासन कार्यालयले कोरोनाको सम्भावित संक्रमणबाट बच्न संघीय र प्रदेश सरकारले गरेको निर्णयअनुसार सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। स्थानीय प्रशासनले सूचना प्रकाशित गर्र्दै जिल्लामा कुनै पनि मेला, महोत्सव, सभा, सम्मेलन तत्काललाई नगर्न भनेको छ।

कोरोना भाइरस भित्रिन नदिन नेपाल–भारत सीमा नाका जमुनाहा र नेपालगन्ज विमानस्थलमा विशेष सावधानी अपनाइएको छ। दुवै ठाउँमा हेल्थ डेस्क स्थापना गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जिल्लामा कोरोना भाइरसको संक्रमण हुन नदिन विशेष सावधानी अपनाइएको बताए। उनले भने, ‘अस्पतालमा आइसोलेसन वार्ड राख्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र अत्यावश्यक कामबाहेक मेला, महोत्सव र भीडभाडमा नजान सबैलाई अनुरोध गर्ने निर्णय भएको छ ।’ नागरिकबाट

Womui
Womui