बाँकेको खजुरामा कृषि क्याम्पस सञ्चालन, मुख्यमन्त्री पोखरेलद्धारा उद्घाटन

99

नेपालगन्ज, फागुन १७-
प्रदेश पाँचका मूख्यमन्त्री शंकर पोखरेलले खजुरामा सञ्चालनमा आएको कृृषि क्याम्पसले एउटा मोडेल नमूना प्रस्तुत गर्नुपर्ने बताएका छन् । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको शनिबार उद्घाटन तथा भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । क्याम्पस समान्य ज्ञान हासिल गर्ने थलोको रुपमा मात्र नभई इजरायली मोडेलमा बसेको खजुराको बस्तीमा इजरायलको भन्दा कृषिमा राम्रो नमूना प्रस्तुत गर्ने विद्यार्थी उत्पादन गर्ने योजना तयार गर्नु पर्ने बताए ।

संचालनमा आएको स्नातकतह कृषि विज्ञान एउटा मोडेलको रुपमा अगाडि बढाउन क्याम्पस प्रशासनलाई मूख्यमन्त्री पोखरेलले सुझाव दिए । मूख्यमन्त्री पोखरेलले नमूना क्याम्पसका लागि नमूना विद्यार्थी उत्पादन हुनु पर्ने बताउँदै ५४ विद्यार्थीको कोटा रहेकोमा हरेक विद्यार्थी किसानको जीवनस्तर परिवर्तन ल्याउनेमा प्रयत्नशील हुनु पर्ने बताए । खजुरा क्षेत्र बाहिरका विद्यार्थीलाई डेरा लिनु पर्ने होइन डेरामा बसाल्नका लागि किसानले खोज्ने गरी विद्यार्थीलाई क्याम्पसले ज्ञान सीप सिकाउनु पर्ने मूख्यमन्त्री पोखरेलको भनाई थियो । गुरुयोजनाका साथ क्याम्पसलाई अगाडि बढाउन आग्रह गर्दै मूख्यमन्त्री पोखरेलले पूर्वाधार निर्माणको चुनौती रहेको उक्त क्याम्पसलाई विश्वविद्यालय अनुसन्धान आयोगमा प्रस्ताव गर्न आग्रह गरे ।

उनले आगोगबाट आउने सहयोग बराबरै प्रदेशले थपेर दोब्बर बनाउने र उपहारका रुपमा एउटा भवन निर्माण गरिदिने प्रतिवद्धता जनाए । मूख्यमन्त्री पोखरेलले जनता इलम र उत्पादनमा जोडिनु पर्नेमा जोड दिए । उनले मूख्य काम उत्पादन भएको उल्लेख गर्दै सरकारले ज्ञान, सीप, चेतना र प्रविधि दिनु पर्ने र जनता उत्पादनमा जोडिनु पर्ने बताएका हुन् । मूख्यमन्त्री पोखरेलले योजनावद्ध विकासबाटै प्रदेशको समृद्धि हासिल हुने भन्दै प्रदेश पाँच सरकार प्रदेश समृद्धिको आधार तय गरेर अगाडि बढेको बताए ।

कार्यक्रममा प्रदेश सांसद आइपी खरेलले साझा प्रयत्नबाट मात्र विकास सम्भव भएको भन्दै विकासको दायित्व र जिम्मेवारी लिन सबैलाई आग्रह गरे । जिल्ला समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तव, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली लगायतले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा क्याम्पसलाई नमूना बनाउन अगाडि बढाउनु पर्ने बताए । कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले प्रदेश र स्थानीय सरकारको सहयोगमा कृषि क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा क्याम्पस स्थापनाका लागि निरन्तर पहल गर्ने सांसद आइपी खरेललाई सम्मान गरिएको थियो । गत फागुन ११ गतेदेखि स्नातक तह प्रथम वर्ष कृषि विज्ञानको पठनपाठन सुरु भएको बताउँदै क्पाम्पस प्रमुख डा. कृष्णहरि ढकालले अध्यापन, अनुसन्धान र कृषि प्रसार मूख्य उद्देश्य भएको बताए ।

Womui
Womui