‘बागेश्वरी गुठीको जग्गा भन्दै बेघर बनाउन थाले’ जग्गाधनी

224

नेपालगन्ज, माघ २२
साबिकको इन्द्रपुर ३क अन्तर्गत पर्ने ८४ विगाहा जग्गा बागेश्वरी गुठीको नभएर व्यक्तिगत भएको यहाँका बासिन्दाले बताएका छन् । १९३३ देखि हालसम्म तत्कालीन सरकारले तोकेको तिरो तिर्दै, जग्गा जोतभाग गर्दै उक्त जग्गाको भोगचलन गर्दै आइरहेको मंगलबार पत्रकार सम्मेलन गरी बताएका हुन् । १९३३ देखिनै पुर्खौदेखि जग्गा किनबेच, अंशबण्डा, बैकिङ कारोबारलगायतका कार्य गर्दै आएकोमा यसबीच पर्ने जग्गा विवादबारे न्यायालयबाट समेत फैसला हुँदा बागेश्वरी गुठीको जग्गाको नाममा नभई व्यक्तिको जग्गाको नाममा फैसला भएकोमा अहिले सरकारले इन्द्रपुर ३क साविकमा पर्ने ८४ बिगाहा जग्गालाई बागेश्वरी गुठीको भनेर वास्तविक जग्गाधनीलाई बेघर बनाउन खोजेकोमा दुःख लागेको जग्गाधनीहरुले एकै स्वरमा बताए ।


इति सम्वत् १९३६ साल मिति वैशाख श्रुति २ रोज ४ को श्री ३ महाराजा रणोद्दिप सिंहको सनत तथा अन्य ऐतिहासिक प्रमाणले तत्कालीन सभ्य कारकाँदो मौजे करमोहनाको किल्लाभित्र पर्ने सम्पूर्ण जग्गाको तिरो तत्कालीन सरकारले तोके अनुसार जमिन्दार तथा पटवारीले उठाउँदै आएको करमोहना गुठी रैतान नम्बरी जग्गा संघर्ष समिति प्रवक्ता सन्तकुमार बर्माले बताए । बर्माका अनुसार उक्त समयदेखि सनतमा उल्लेख भए बमोजिम विक्रम संवत् २०३६ साल वैशाख २ रोज ३ मा बागेश्वरी मन्दिरका पुजारीलाई पूजा तथा पर्वका लागि नगद रु. ३४९ रुपैयाँ बाँके कचहरीबाट सभ्य कारकाँदो मौजे करमोहनामध्ये आधा मौजाको आम्दानी लिनु भनि उल्लेख भएको प्रमाण आफूसँग रहेको बताए ।


‘त्यस्तै विक्रम संवत् १९३७ साल असार २४ गते श्री ५ सरकार जिल्ले नयाँ मुलुक बाँके मन्सिद्धि (१ हरफी) कचहरीमा पहिलोपटक जिल्ले नयाँ मुलुक बाँके तप्के कारकाँदो मौजे करमोहना मालगुठीसमेतको दाखिला तोकी जंजिरबाट नाप भएको देखिन्छ,’ प्रवक्ता वर्माले भने,‘ उक्त एक हरफीमा प्रथम जिल्ला मौजे इन्दरगाउँका आवादीदेखि दोस्रो किल्लामा बन्जाडे गाउँको सिमाना, परसपुरको सिमाना तेस्रो किल्ला र चौथो नगरको किल्ला भएको हो । सोहीमा जम्मा रैती संख्या ३७ जग्गा कित्ता २७१ जग्गा ९९ विगाहा १९३७ को सनतको एक हरफीमा नाप भएको देखाइएको छ ।’ उनले थपे,‘त्यस्तै सो पश्चात् ९९ विगाहा मध्ये कुन आसामीको कति हो भन्ने कुरा विक्रम संवत् १९६७/६८ दुई वर्ष लगाएर जिल्ले नयाँ मुलुक बाँके मन्सफी कचहरीले तयार गरेको अडसठ्ठा उक्त मौजाभित्र पर्ने सम्पूर्ण विवरण व्यक्तिकै जग्गा भएको उल्लेख गरेको पाइन्छ । उक्त अड्सठ्ठामा प्रष्ट रूपमा कूलजग्गा, मालतर्फ पर्ने कूल जग्गा, गुठीतर्फ पर्ने कूल जग्गा, आसामीको नाम, रैती नम्बर, जग्गाको क्षेत्रफल, लाग्ने तिरो, तिरो उठाउने व्यक्तिको नाम (जसलाई पटवारी पनि भनिन्छ) उल्लेख छ । सो जग्गाबाट उठेको रुपैयाँमध्ये मन्दिर व्यवस्थापनका लागि ३४९ रुपैयाँ फेरि दिएको प्रमाण आफूसँग भएकोले हामीले उपभोग गर्दै आएको जग्गा बागेश्वरी गुठीको नभएर हाम्रै हो ।’
बर्माले भूमिसुधार लागू भएपछि जोताहाको अस्थायी निस्सा तयार भएको प्रमाण जग्गाधनीसँग भएको बताए । भूमिसुधारटोली तथा तत्कालीन पञ्चायतको प्रतिनिधिको हस्ताक्षरबाट जारी भएको जोतहाको अस्थायी निस्सा नामक ४ नम्बर प्रमाण तयार गरिएको र सो पश्चात श्री जिल्ला भूमि सुधार अधिकारी बाँके जिल्लाद्वारा जग्गा वालाको वा निजको तर्फबाट अरु कसैले दाखिल गर्नु पर्ने फाँटवारीको ढाँचा नम्बर ७ जसलाई फाँटवारी ७ नम्बर भूमि सम्बन्धी नियम २०२१ को नियम १८ को उपनियम १ बमोजिम फाँटवारी ७ तयार भएको देखिन्छ । सोपश्चात तत्कालीन श्री ५ को सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालय, नापी विभाग, नापी शाखा बाँकेले दिएको प्रमाणमा पनि बागेश्वरी गुठीको नाम नभएर जग्गा धनीकै नाम भएको बताए ।
सरकारद्वारा गठित सार्वजनिक सरकारी र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगका सदस्य जगत देउजाको टोली नेपालगन्ज आई वास्तविकता नबुझेरै २ दिनमै अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाएको प्रति आपत्ति जनाउँदै जग्गाधनीहरुले भने,‘ पूजापाठको निरन्तरताको लागि परम्परादेखिनै गुठीलाई तिरो तिर्ने भएकाले बागेश्वरी गुठीलाई तिरो तिरिएको हो । नम्बरी भूमि उपयोग गरेबापत तिरो तिर्नु पर्छ गुठीको जग्गाको होइन । १९३३ सालदेखि अहिलेसम्म तिरो तिर्दै आएका छौं ।’

Womui
Womui