दश रुपैयाँमै खाना !

174

छिनछिन खबर
बाँके– १० रूपैयाँमै खाना! त्यो पनि आजको महँगो समयमा । असम्भव लाग्ने काम सम्भव गराए, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका हुन् ।

सदरलाइनस्थित नगर भवनअगाडि मंगलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना खुवाउने गरिएको छ । यहाँ पाँच सय जनासम्म सर्वसाधारण खाना खान पुग्छन् । ‘आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने कारण अरू पनि खाना खान पुग्छन्। खानामा भात र दालका साथै मिठाई पनि दिइन्छ,’ उनले भने ।

६९ वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन्। उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आए । ‘छोराहरु व्यवसायमै छन् । म पुण्यको कामतिर,’ उनले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स चलाएका छन्। कान्छा छोरा निखिल पनि व्यवसायमा गर्छन् ।  अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्न सकिने बताए । ‘यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ। बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु,’ उनले भने । रासस

Womui
Womui