चन्द्रमा भ्रमणमा जाने जीवनसाथीको खोजी

39

जापानका अर्बपति युसाकु मेइजावा फेरि चर्चामा आएका छन। यसअघि ट्वीटर प्रयोगकर्तालाई ९० लाख डलर सित्तैमा बाँड्ने घोषणा गरेपछि उनले सबैको ध्यानाकर्षण गराएका थिए। त्यो भन्दा अगाडि पनि चन्द्रमाको भ्रमण गर्ने पहिलो पर्यटक हुने भएपछि उनी विश्वव्यापी समाचार बन्न पुगेका थिए।

यसबीच अहिले उनी त्यही ऐतिहासिक भ्रमणमा सँगै लैजान जीवनसाथीको खोजी गरिरहेका छन् त्यो पनि ट्वीटरमार्फत। ४४ वर्षीय व्यवसायी युसाकु स्टारशीप रकेटमा चन्द्रमा घुम्ने पहिलो सर्वसाधारण यात्रु हुनेछन्। २०२३ मा पूरा गर्ने भनिएको यो मिसन १९७२ पछिको पहिलो चन्द्रमा अवतरण हुनेछ। यस्तोमा अनलाइनमार्फत एउटा विशेष अपील गर्दै उनले यो ऐतिहासिक क्षण सँगै अनुभव गर्न विशेष महिला सहयात्रीको अपील गरेका हुन्।

उनी केही समय अगाडि मात्र २७ वर्षीया प्रेमीका एमे गोरिकीसँग छुटिएका थिए जो जापानी अभिनेत्री हुन्। यसपश्चात् उनले अहिले विश्वभरका सबै महिलाहरुलाई यस ‘लगन जुराउने कार्यक्रम’ अन्र्तगत आफ्नो वेबसाइटमा आवेदन दिन अनुरोध गरिरहेका छन्। उक्त वेबसाइटमा उनले भनेका छन्, “म भित्र एक्लोपना र खालिपन बिस्तारै बढ्दै गइरहँदा मैले एउटै कुरा मात्र सोचेँ कि म अब एउटै महिलालाई मात्र प्रेम गरिरहनेछु। त्यसैले म मेरो जीवनसाथी खोज्न चाहान्छु। अनि भविष्यकी ती प्रेमिकासँगको माया र विश्व शान्तिका आवाजहरु बाहिरी अन्तरिक्षसम्म पुर्याउनेछु।”

यसका लागि वेबसाइटले विभिन्न सर्तहरु पनि सूचित गरेको छ भने आवेदनको तीन महिना लामो प्रक्रिया रहेकाबारे पनि जानकारी गराएको छ। यसका सर्तमा महिला एक्लो हुनुपर्ने, २० वर्ष भन्दा माथि उमेरको हुनुपर्ने र सधैँ सकारात्मक अनि अन्तरिक्ष जाने सम्बन्धी रुची भएको हुनुपर्ने भनिएको छ। सो आवेदनको अन्तिम मिती १७ जनवरीसम्म रहेको छ भने अन्तिम निर्णय युसाकुले मार्चको अन्त्यमा घोषणा गर्नेछन्।

उनको व्यक्तिगत सम्पति ३ अर्ब डलर बराबर रहेको बताइएको छ। यस चन्द्रमा भ्रमणका लागि कति रकम तिर्ने भन्ने उनले सार्वजानिक गरेका छैनन् तर अत्याधिक ठूलो रकम तिर्न लागेको उनी आफैँले बताएका हुन्। (बीबीसी)

Womui
Womui