यसरी जोगियो ह्याकरबाट बैंकको ५ करोड

91

छिनछिन खबर
काठमाडौं– विदेशी ह्याकरले कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी पैसा निकालेको पाइएको छ । ‘ह्याकरले ५ अर्ब निकाल्ने योजना बनाएका रहेछन् । झन्डै ७० लाख निकालेको पाइयो । ६० लाख बरामद गरेका छौं । १० लाख हुन्डीमार्फत भारत लगिसकेको खुल्न आएको छ’, महानगरीय अपराध नियन्त्रण महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भने ।

उक्त घटनाका मुख्य योजनाकार विदेशी नागरिक ‘काले’ भनिने पिटर हुन् । उनी लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएको खुलेको छ । उनले नेपाली नागरिकलाई प्रयोग गरी कृषि विकास बैंक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंकलगायत बैंक तथा वित्तीय संस्थाहरूको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएको पाइएको छ ।

महाशाखाको विशेष टोलीले विभिन्न क्षेत्रमा पैसा निकाल्दै गरेका १२ जनालाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । ह्याकरको समूह तथा सहयोगीले बैंकमार्फत ४ करोड ७३ लाख रकम भने विभिन्न व्यक्तिको नाममा सारिसकेको पाइएको छ । समयमा प्राप्त सूचना र प्रहरीको तत्कालको अनुसन्धानले उक्त रकम निकाल्नबाट जोगिएको छ ।

यसरी सुरु हुन्छ घटना
बानेश्वरस्थित पानस रेमिटबाट केही व्यक्तिले आइतबार अस्वाभाविक रुपमा पैसा निकाले । उनीहरूको गतिविधि शंकास्पद लागेर कर्मचारीले महाशाखामा जानकारी दिए । त्यसपछि खटिएको महाशाखाको टोलीले केही व्यक्तिलाई पक्राउ ग¥यो । नुवाकोटका लवाङ तामाङलाई पक्राउ गरिएपछि थप रहस्य खुल्न पुग्यो । उनको साथबाट प्रहरीले ३१ लाख बरामद गरेपछि घटनाले अर्कै मोड लियो ।

कृषि विकास बैंकको रकम निकालेको पत्ता लागेपछि प्रहरीले जिल्लामा सर्कुलर गरी ‘हाई अलर्ट’मा बस्न भन्यो । प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने, ‘लवाङसँगको सोधपुछमा विदेशी नागरिक काले भन्ने पिटरसँग उनको सम्बन्ध रहेको जानकारी प्राप्त भएपछि घटनामा ठूलै गिरोह रहेको रहस्य पत्ता लाग्यो । हामीले अनुसन्धानलाई थप तीव्रता दियौं ।’ उनका अनुसार कृषि विकास बैंकमा बुझ्दा करोडौँ रकम विभिन्न व्यक्तिको खातामा पठाइसकिएको फेला प¥यो । त्यो खाताको पैसा लिन आउने सबैलाई नियन्त्रणमा लिन भन्दै बैंकमा सर्कुलर भयो । सोही क्रममा प्रहरीले १२ जना पक्राउ गरेको थापाले जानकारी दिए ।

नेपाली नागरिकलाई खातामा जम्मा भएको रकमको १५ देखि ३५ प्रतिशतसम्म दिने र अरू रकम हुन्डीमार्फत भारत पठाउने सर्तमा व्यक्तिका नाममा ह्याकरले पैसा पठाएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका लवाङ तामाङ, रसुवाका लक्ष्मी लामा, निर्मला तामाङ र निमा तामाङ, काठमाडौं तारकेश्वरका सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, लमजुङका विद्यासागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरका सुनिता श्रेष्ठ, भारत कोलकाताका सुबन्कर पञ्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका योजनाकार पिटर भने फरार छन् । प्रहरीका अनुसार उनीहरुले कृषि विकास बैंकबाट रकम ४ करोड ७३ लाख ९६ हजार ह्याक गरेर व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट रु १२ लाख निकालेको तथा अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी पैसा व्यक्तिको खातामा पठाएको पाइएको छ ।

Womui
Womui