विवादको भुमरीमा कोहलपुर नगरपालिका, यस्ता छन विवादका कारण

134

कोहलपुर, साउन १०-
कोहलपुर नगरपालिकाको गत मंगलबार सार्बजनिक सुनुवाई नै स्थगित भयो । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा प्रदान गरेको सेवा सुविधा प्रभावकारीताका विषयमा सार्बजनिक सुनुवाई राखेको थियो । नगर प्रमुख लुटबहादुर रावत उपस्थित नभएपछि सार्बजनिक सुनुवाई स्थगित गरियो । आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको भन्दै नगर प्रमुख रावत कार्यक्रममा उपस्थित नभएपछि सहभागीले आपत्ती जनाए ।
नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीमाथी प्रश्न गर्न हलभित्र सर्बसाधारणको बाक्लै उपस्थिती देखिन्थ्यो ।

करिव १५ मिनेटजति चलेको सार्बजनिक सुनुवाईमा प्रमुख जवाफदेहीवक्ताको रुपमा रावत नै उपस्थित हुनुपर्ने आवाज बारम्बार उठेपछि अन्ततः स्थगित गरियो । कार्यक्रमका सहभागी यज्ञ महराले सार्बजनिक सुनुवाईमा नगर प्रमुख रावत नै उपस्थित भएर जनताले उठाएको प्रश्नको जवाफ दिनुपर्ने अडान राखेका थिए । अर्का सहभागी भूमबहादुर भण्डारीले पनि नगर प्रमुख बिना सार्वजनिक सुनुवाई गर्नुको औचित्य नरहेको बताएपछि अन्य सहभागीले पनि उनको भनाईलाई सर्मथन जनाए ।

कार्यक्रमको अध्यक्षता गरेकी उपप्रमुख सञ्जुकुमारी चौधरीले जनताको माग अनुसार तत्कालका लागि सार्वजनिक सुनुवाई स्थगित भएको घोषणा गरिन् । नगरपालिकाको सभा र कार्यपालिका बैठक यसअघि पनि पटक–पटक विवादित बन्ने गरेको थियो । नगरपालिकामा नगर प्रमुखसहित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट जनप्रतिनिधीको बर्चश्व रहेको छ । जनप्रतिनिधी निर्वाचित भएको दुई वर्ष वितिसक्दा पनि नगरपालिकाले लेखा समिति, सुशासन समिति जस्ता महत्वपुर्ण समिति गठन नगरेको, आफ्ना अनुकुलका नीति/नियम बनाएर आर्थिक अनियमिता गरेको, नगरपालिकामा कार्यकर्ताको भर्ती केन्द्र बनाएको जस्ता आरोप लगाउँदै उपप्रमुखसहित नेपाली कांग्रेस निकट जनप्रतिनिधीले आवाज उठाउँदै आएका छन् ।

आन्तरिक कलहले नगरपालिका विवादित बनिरहेको छ । सार्बजनिक सुनुवाई नै स्थगित भएपछि नगरपालिका थप विवादित बन्न पुगेको छ । उपप्रमुख चौधरी सार्बजनिक सुनुवाईमा नगर प्रमुख नै उपस्थित हुनुपर्ने सहभागीले अडान राखेपछि स्थगित गर्नु परेको बताउँछिन् ।
विभिन्न विषयगत समितिले आफ्नो कामको जवाफ सार्वजनिक सुनुवाईमा दिनुपर्ने भएकाले नगर प्रमुखको कार्यक्षेत्रका विषयमा आफुले जवाफ दिन नसक्ने उनको भनाई छ । उपप्रमुख चौधरी भन्छिन्, ‘नगरपालिकाले के–के योजना र कार्यक्रम सञ्चालन गर्यो, कार्यकारी प्रमुखको हैसियतले नगर प्रमुखले नै जवाफ दिनुपर्ने हुन्छ, सबै कुरा मलाई थाहा हुदैन, उहाँ नभएको अवस्थामासार्वजनिक सुनुवाई स्थगित गर्नुपरेको हो ।’ कार्यक्रमका सहभागीले कतिपय कुराको जवाफ नगर प्रमुखले नै दिनुपर्ने माग गरेपछि स्थगित गर्नु परेको उपप्रमुख चौधरीले प्रष्ट्याएकी छन् । स्थगित भएको सार्बजनिक सुनुवाई कहिले गर्ने भन्नेमा अन्यौलता छाएको छ ।

Womui
Womui