सिक्टा र भेरी बबई डाइभर्सनमा सरकारको चासो हुनुपर्छः राष्ट्रपति

90

बाँके– राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय गौरवका आयोजनालाई पूर्णता दिन सरकारलाई निर्देशन दिएकी छन् । उनले पश्चिम नेपालका सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सनलगायत राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताइन् ।

बाँकेमा आयोजित एक कार्यक्रममा दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको समेत उनले बताइन् । वैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औंँ वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन्।

बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकलाई आग्रह गर्दै उनले भनिन्, ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनताले पाउनुपर्छ ।’ सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।
रासस

Womui
Womui