राष्ट्रिय गौरवको आयोजना लाइभ अबलोकन गर्न प्रधानमन्त्री कार्यालयमा एक्सन रुम

55

छिनछिन खबर
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्ने भएका छन् । अबको झन्डै १ महिनापछि प्रधानमन्त्री ओलीले २१ वटा राष्ट्रिय गौरवका आयोजनाको काम आफ्नै कार्यालयमा बसेर लाइभ हेर्ने भएका हुन् । त्यति मात्रै हैन आवश्यक परेको विषयमा उनले ७ प्रदेशका मुख्यमन्त्रीसँग पनि एकै पटक प्रत्यक्ष छलफल गर्ने गरी व्यवस्था मिलाइएको छ ।

भिडियो कन्फर्मेसन पद्धतिबाट देशको मुख्य आयोजनाको कामको अवलोकन गर्न र प्रदेशका मुख्यमन्त्रीसँग समन्वय गर्न प्रधानमन्त्री कार्यालयमा अहिले धमाधम एक्सन रुम बनाउने काम भइरहेको छ । प्रधानमन्त्री कार्यालयको भुइँतलामा रहने सो संयन्त्रका लागि आवश्यक प्रविधि झिकाउने काम भइरहेको छ ।
झन्डै साढे ४ करोड लागतमा बन्दै गरेको एक्सन रुम निर्माणको काम अन्तिम चरणमा पुगेको र जेठको अन्तिम साताबाट सञ्चालनमा आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

एक्सन रुम निर्माण भइसकेपछि प्रधानमन्त्रीले विशेषगरी राष्ट्रिय गौरवका आयोजनाहरूको प्रत्यक्ष अवलोकन गर्न प्रधानमन्त्री कार्यालयमा रहेको सूचना प्रविधि शाखाले २१ वटा राष्ट्रिय गौरवका आयोजनास्थल पुगेर क्यामेरा जडानका लागि प्रारम्भिक अध्ययनसमेत गरेको छ । सुरुमा एउटा आयोजना स्थलमा ६ वटा क्यामेरा राख्ने तयारी गरिएको छ ।

सो क्यामेराबाट प्राप्त लाइभ दृश्यबाट प्रधानमन्त्रीले आयोजनाको कामको प्रगति हेर्नेछन् र कामको गति बढाउन निर्देशन दिनेछन् । निकै वर्ष अघि सुरु गरिए पनि यतिखेर राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति सन्तोषजनक छैन । जसले गर्दा एकातिर सर्वसाधारणले समयमै विकास पाउन सकेका छैनन् भने अर्कोतर्फ राज्यको लगानी थपिएको थपियै छ ।

Womui
Womui