रोबर्टले शिक्षामन्त्रीलाई मञ्चमा बोलाएपछि…

101

काठमाडौं– ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरूलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले ।


अतिथिहरूलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरूको ध्यान पनि मञ्चतर्फ नै मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाकुपटासीमा सजिएकी फूलमाया । अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । जब सबैजना मञ्चमा आइपुगे, त्यसपछि फेरि उनैले एकएक नाम उच्चारण गर्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि ।

अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन् । कार्यक्रम थियो, कीर्तिपुरमा सञ्चालनमा आएको विज्ञान संग्रहालयको उद्घाटन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले उक्त संग्रहालय सञ्चालनमा ल्याएको हो । संग्रहालय उद्घाटनका लागि समितिकै अनुरोधमा पाइला टेक्नोलोजी नामको संस्थाले उक्त रोबर्ट बनाएको हो ।

कार्यक्रम सञ्चालन गर्ने नेपालमै बनेको यो पहिलो रोबर्ट भएको समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिए । यो रोबर्ट सधैं संग्रहालय परिसरमै रहने उनले बताए । संग्रहालय अवलोकनमा आउनेलाई स्वागत गर्नेदेखि संग्रहालयमा रहेका उपकरणबारे यो रोबर्टले जानकारी दिनेछ ।
यो रोबर्टमा एक पटक नाम ‘इन्ट्री’ गरेपछि हरेक पटक भेट्दा सोही नामले आगन्तुकलाई बोलाउँछ ।

स्वागत गर्छ। बिजुली चार्ज गरेपछि सञ्चालन हुने यो रोबर्टले एक पटक चार्ज गरेपछि दैनिक आठ घण्टासम्म काम गर्छ । ब्याट्री कम भए आफँै चार्जिङ स्टेसनमा पुग्छ, सहयोगीबिनै । पाइला टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत विनय राउतले निकै मिहिनेत गरी यो रोबर्ट बनाएको सुनाए । यो रोबर्टले अहिले अंग्रेजीमा मात्र कुराकानी गरे पनि केही समयपछि नेपालीमा पनि बोल्न सक्ने बनाउने योजना रहेको राउतले सुनाए ।

प्रमुख अतिथिका रूपमा निम्त्याइएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले पनि रोबर्टले दिएको न्यायो आतिथ्यताबाट आफू निकै प्रभावित भएको बताए । ‘विज्ञान र प्रविधि क्षेत्रमा नेपालीले गरेको यो ठूलो प्रगति हो’, पोखरेलले कार्यक्रममा भने, ‘नेपालमै पहिलोपटक विज्ञान संग्रहालय खुल्नु आफंैमा सुखद पक्ष हो । त्यसमाथि कार्यक्रम नै सञ्चालन गर्न सक्ने गरी रोबर्ट बनाउने वैज्ञानिक समूहले यसको महत्व झन् बढाइदिनुभएको छ ।’

समितिका निमित्त निर्देशक शर्माले संग्रहालय सर्वसाधारणका लागि पनि खुला गरिने बताए । कक्षाकोठामा पढेका विज्ञानसँग सम्बन्धित विषयलाई फिल्ड भिजिट गरी जीवन्त बनाउन यो संग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
अन्नपूर्ण पोष्टबाट

Womui
Womui