९ लाख नेपाली वेरोजगार, ७० लाख रोजगार

122

छिनछिन खबर
काठमाडौं–केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षणमा ९ लाख ८ हजार नेपाली बेरोजगार देखिएका छन् । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार महिला वेरोजगार रहेका छन् । नेपाली श्रम बजारमा ८० लाख नेपाली उपलब्ध छन् । श्रमशक्ति सर्वेक्षण, २०१९ अनुसार बेरोजगारी दर ११.४ प्रतिशत रहेको छ ।

यसअघि सन् २००८ मा बेरोजगारी दर २.८ प्रतिशत र सन् १९९८ मा १.९ प्रतिशत थियो। अघिल्ला सर्वेक्षणमा स्वयंसेवकका रूपमा काम गर्नेलाई पनि रोजगार मानिएकाले बेरोजगारी दर कम रहेको केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक नेबिललाल श्रेष्ठले बताए । मुलुकमा १५ वर्षभन्दा बढी उमेरका दुई करोड सात लाख ४४ हजार जनसंख्या छ । त्यसमध्ये ७९ लाख ९४ हजारको संख्यामा श्रमशक्ति बजारमा उपलब्ध छ।

यीमध्ये झन्डै ४३ लाख वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ। बाँकी श्रमशक्तिबाट मुलुकमा रोजगारी पाएका ६२.२ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्छन् । पछिल्लो सर्वेक्षणअनुसार ७० लाख ८६ हजार जनसंख्यामा रोजगारीको पहुँच पुगेको छ । यसपटक विभागले वस्तु तथा सेवा उत्पादन र त्यसको उपभोग तथा नाफा आर्जन गर्ने क्रियाकलापलाई मात्र रोजगार मानेको छ । श्रमशक्तिभन्दा बाहिरको संख्या एक करोड २७ लाख ५० हजार छ। त्यसमध्ये ८५ लाख महिला र ४२ लाख ५० हजार पुरुष छन् । ७० लाख ८६ हजार रोजगारीमध्ये २५ लाख ४० हजार महिला र ४४ लाख ४६ हजार पुरुष छन् ।

Womui
Womui