कांग्रेसको प्रधानमन्त्रीलाई प्रश्नः यहाँको रामराज्यमा न्याय मरिसकेको हो ?

108

छिनछिन खबर
काठमाडौं,मंसिर ६ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा ९ महिनाको अवधिमा दुईजनाको हत्या भएको भन्दै शान्ति सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । काँग्रेसले सरकारको नौ महिने अवधिको समीक्षा गर्दै शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण असफल भएको दाबी गरेको छ ।

पार्टी कार्यालय सानेपामा गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सत्तासीन दलका कार्यकर्ताद्वारा सर्लाही र रोल्पामा आफ्ना दुई कार्यकर्ताको हत्या भएको दाबी गरे । उनले सरकार जनताको जीउधनप्रति गम्भीर नभएको आरोप लगाउदै भने,‘निर्मला पन्तको बुबाआमा डेढ सातादेखि धर्नामा छन् । म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु । सम्माननीय प्रधानमन्त्रीज्यू यहाँको रामराज्यमा निर्मलाले न्याय पाउने सम्भावनाको मृत्यु भइसकेको हो ?’

सरकारले सूचना २४ घण्टामै सार्वजनिक गर्नुपर्ने

काँग्रेसले मन्त्रिपरिषदको निर्णय ७ दिनमा सार्वजनिक गर्ने सरकारको तयारी तत्कालै सूचना पाउने नागरिकको हक र पारदर्शिताको प्रतिवद्धता विपरित भएको बताएको छ । प्रवक्ता शर्माले भने,‘यसप्रति विमति प्रकट गर्दै २४ घण्टामै सार्वजनिक गर्ने प्रबन्धका लागि आग्रह छ ।’ मन्त्रिपरिषदले गरेका निर्णयहरु सरकारले भने साताको बिहिबार मात्र पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने निर्णय गरेको छ ।

रेल सेवाको उद्घाटनमा आपत्ति

जयनगर–जनकपुर–कुर्था रेल सेवाको उद्घाटन भारतको एक राज्यका मुख्यमन्त्रीले गर्ने विषयप्रति पनि कांग्रेसले आपत्ति जनाएको छ । उसले भन्यो, ‘कुनै पनि परियोजनको उद्घाटन दुई राष्ट्रका प्रधानमन्त्रीबाट संयुक्त रुपमा हुने या निश्चित विभागीय तहबाट हुने परम्परा र मर्यादा उलंघन गर्न मिल्दैन ।’ त्यहाँ भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आउने चर्चा चलेको छ । जसलाई कांग्रेसले कुटनीतिक मर्यादा विपरित भनेको छ । बुधबार यस विषयमा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पनि आपत्ति जनाएका थिए ।

Womui
Womui