थपेका जहाजलाई उडाउने क्षमता नहुँदा नेपाल वायुसेवा निगम चरम वित्तीय संकटमा

40

मालती ओली
काठमाडौ, कात्तिक ३० । पछिल्लो समयमा साना र ठूला जहाज थप्दै गएको नेपाल वायुसेवा निगमले एकाएक आर्थिक संकटमा परेको घोषणा गरेको छ । त्यसको अलवा ग्राउन्ड हेन्डलिङ (भूमिस्थ सेवा) को आम्दानीबाट समेत निगमको आम्दानी सन्तोषजनक थियो । तर पछिल्लो समयमा थपिएका जहजको राम्रो व्यवस्थापन गर्न नसक्दा निगम जोखिममा परेको बताइएको छ । खासगरी निगमले नयाँ दुई जहाज खरिदसँगै उच्च वित्तीय जोखिममा धकेलिएको हो ।  अर्बौं रुपैयाँ कर्जा लिएर खरिद गरेका दुई वाइड बडी जहाजलाई निगम व्यवस्थापनले पूर्ण क्षमतामा उडाउन सकेको छैन । आगामी दिनमा पनि निगमले व्यावसायिक योजनाअनुसार ठूला जहाजलाई उडाउन नसके निगमले आफ्नो सम्पत्ति बेचेर मात्र वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ । अर्बौं रुपैयाँ ऋण लिएर किनेका जहाजलाई निगमले अधिकांश समय थन्क्याएर राखेको छ ।


निगम व्यवस्थापनले पत्रकार सम्मेलनमार्फत जारी गरेको श्वेतपत्रअनुसार एकातिर यसको मासिक आम्दानीले खर्च धान्न सकेको छैन भने अर्को्तिर कर्जाको ब्याजसमेत तिर्न नसक्ने अवस्था आएको छ । यही अवस्थामा निगमलाई नगद प्रवाहको पनि समस्या भएको छ । निगमका अधिकारीका अनुसार निगमको अहिलेको समस्या भनेको ऋण लिएर किनेको जहाजले आवश्यक आम्दानी नगर्ने तर यसका लागि खर्च हुने अवस्था आएपछि निगम चरम संकटमा फसेको हो । श्वेतपत्रमा जहाजको तिर्नुपर्ने कर्जा रकम ३२ अर्ब ८७ करोड रुपैयाँ पुगेको र निगमको कर्जा पुँजी अनुपात ३९.८२ रहेको उल्लेख छ ।

श्वेतपत्रअनुसार वाइड बडी जहाज ए ३३० उडानअघि निगमको मासिक आम्दानी एक करोड २५ लाख रुपैयाँ थियो । ए ३३० जहाज उडाउन थालेपछि निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ पुगेको छ । यस्तै यो जहाज उडाउनुअघि निगमको स्थिर खर्च २३ करोड ९९ लाख रुपैयाँ भएकामा जहाज उडाउन सुरु गरेपछि यस्तो खर्च ५३ करोड २७ लाख रुपैयाँ पुगेको छ । श्वेतपत्रले वाइड बडी जहाज उडाउन सुरु गरेपछि खर्च मात्र बढेको होइन आम्दानी पनि बढेको देखाएको छ । तर त्यस्तो आम्दानीले खर्च धान्न सक्दैन । निगमका अध्यक्ष मदन खरेलले दैनिक कारोबारका लागि समेत नगद अभाव भएको बताए । ‘निगम संकटमा छ,’ खरेलले भने, ‘हामीले व्यावसायिक योजना बनाएर सरकारसँग २० अर्ब रुपैयाँ माग गरेका छौं ।’ उनका अनुसार अहिले ठूला जहाजको व्यापार ६० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । निगम अध्यक्ष खरेलले कर्जाको ब्याजसहित धेरै किस्ता तिर्नुपर्ने भएकाले निगमको तरलता अवस्थामा समस्या आएको बताए ।
निगमकले भदौ मसान्तसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट गरी दीर्घकालीन कर्जाबापत करिब ३३ अर्ब रुपैयाँ लिएको छ । यसबाहेक अन्य वित्तीय संस्थाबाट लिएको गरी यसको दीर्घकालीन कर्जा ५७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यस्तै छोटो अवधिका रूपमा निगमले राष्ट्रिय वाणिज्य बैंक र हिमालयन बैंकबाट एक अर्ब ८० करोड रुपैयाँ कर्जा लिएको छ ।
ठूलो कर्जामा डुबेको निगमले ब्याज मात्र वार्षिक तीन अर्ब ८४ करोड रुपैयाँभन्दा धेरै बुझाउनु पर्ने अवस्था छ ।

Womui
Womui