राप्तीसोनारीमा शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधी अग्रसर

131

बाँके(अगैया), कात्तिक २७-
शान्ति सुरक्षा कायम गर्न राप्तीसोनारी गाउँपालिकाका जनप्रतिनिधीले अग्रसरता देखाएका छन् । समाजमा हुने विकृती, विसंगती, अशान्तिबाट मुक्त गर्न गाउँपालिकाले प्रहरीसँग सहकार्य गरेर सचेतना मुलक कार्यक्रम गर्न लागेको हो । ‘समुदायका लागि प्रहरी पालिका’ नामक समिति गठन गरिसकेको उक्त गाउँपालिकाले शान्ति, अमन चयन कायम गर्न विभिन्न कार्यक्रम गर्नेछ ।

उक्त कार्यक्रमका लागि गाउँपालिका अध्यक्ष लाहुराम थारुको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरिसकिएको छ । समितिमा उपाध्यक्ष धनीकुमारी खत्री र ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक निरन्जन घिमिरे सह–संयोजक तथा प्रहरी चौकी अगैयाका प्रहरी सहायक निरीक्षक उजिरसिंह दर्लामी सदस्य सचिव छन् । समितिमा जनप्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायत सदस्य रहेका छन् ।
यसैबीच राप्तीसोनारी गाउँपालिकामा शान्ति, अमनचयन कायम गर्नमा सबैको सहकार्य आवश्यक रहेको सम्वद्ध सरोकारवालाले जोड दिएका छन् । राप्तीसोनारीको शान्ति सुरक्षाबारे सोमबार गाउँपालिकामा आयोजित बैठकमा बोल्ने सरोकारवालाले यस्तो बताएका हुन् । केहीदिन अघि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा भएको घटनामा एक युवकको ज्यान गएको थियो । आगामी दिनमा यस्ता घटना हुन नदिन जनप्रतिनिधी र प्रहरीले पुर्वसर्तकता अपनाउने बताए ।

बैठकको अध्यक्षता ग्रहण गर्नु भएका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले शान्ति सुरक्षाका लागि प्रहरीसँग सहकार्य गरेर सचेतना मुलक कार्यक्रम गर्ने तयारीमा रहेको बताए । ‘गाउँपालिका र प्रत्येक वडाको शान्ति सुरक्षाका लागि हामीले समाजसेवी, युवा, राजनीतिक दल, प्रहरीबीच सहकार्य गरेर अगाडी बढ्ने सोच बनाएका छौं,’ उनले भने ‘आफ्नो गाउँपालिकामा शान्ति र अमनचयन कायम गर्न हामी आफै सक्रिय हुन जरुरी छ ।’
शान्ति सुरक्षाका लागि गाउँपालिकाले कुनै कसर बाँकी नराख्ने अध्यक्ष थारुको भनाई छ । ‘शान्ति सुरक्षाको सवालमा गाउँपालिकाले प्रहरीलाई सहयोग गर्दै आएको छ, अझैपनि कहाँनिर के गर्नुपर्छ, त्यो गर्न तयार छौं,’ उनले भने । जनप्रतिनिधी बर्दी बिनाको प्रहरी भएको उल्लेख गर्दै उनले प्रहरीको मात्र नभएर जनप्रतिनिधी, राजनीतिक दल, भद्र भलाद्मीको पनि भुमिका रहेको स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथी एवम् ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख(डिएसपी) रमेशबहादुर सिंहले प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा प्रदान गर्न असम्भव भएको बताए । प्रहरीलाई नागरिक स्तरबाट सूचना प्राप्त भएपछि समाजमा अपराधिक घटनामा धेरै कमी आउने उनको भनाई छ । ‘गाउँ समाजमा भएका कुनैपनि घटनालाई नलुकाउनुस्, हामीलाई समयमा खबर गरिदिनुस्, सूचना पाएपछि प्रहरीले तत्कालै अपराधीलाई पक्राउ गर्न सक्छ,’ उनले भने । शान्ति, सुरक्षा कायम गर्नमा नेपाल प्रहरी कटिवद्ध रहेको जिकिर गर्दै एकाध घटनालाई जोडेर प्रहरीप्रति शंका नगर्न आग्रह गरे । ‘समाजमा हुने घटनाविरुद्ध भर्खरै पुलिस पब्लिक पार्टनरसिप कार्यक्रम आएको छ, यसमा जनप्रतिनिधीको अपनत्व हुनुपर्छ,’ उनले भने ।

पुर्वसांसद पट्टु थारुले सबैलाई शान्ति, सुरक्षाको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा विना विकास र समृद्धी असम्भव भएको ठोकुवा गरे । समाजमा हुने विकृती, विसंगती र अपराधमा समाजकै युवाहरुको संलग्नता हुने भएकाले अभिभावकले आफ्ना छोरा छोरीलाई सुधार्न जरुरी रहेको बताए । ‘युवाहरु सानै उमेरमा मादक पदार्थ, लागु पदार्थको दुब्र्यसनीमा फसिरहेका छन्, उनीहरु नै अपराधमा संलग्न भईरहेका छन्, धेरै विकृती आईसक्यो, नियन्त्रण गर्न गाह्रो भईसक्यो,’ उनले भने ।

राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले समाजमा भईरहेका विकृतीविरुद्ध सबै सचेत हुनुपर्ने बेला आएको बताईन् । प्रहरी र जनप्रतिनिधी एकजुट भएर शान्ति, अमनचयन कायम गर्नुपर्ने उनको भनाई छ । जनप्रतिनिधी र प्रहरीको भुमिका लगभग मिल्दोजुल्दो भएको बताउँदै सहकार्य गरेर समग्र गाउँपालिकाको शान्ति सुरक्षा कायम गर्नुपर्ने धारणा राखिन् । सशस्त्र प्रहरी बल बेस क्याम्प कुसुमका प्रमुख(प्रहरी निरीक्षक) तिर्थ न्यौपानेले समाजमा हुने अपराधमा बढीजसो युवाकै संलग्नता हुने भएकाले बिद्यालयमा नैतिक शिक्षा र घरमा छोरा छोरीप्रति अभिभावकको चासो हुनुपर्ने बताए । विकृती, विसंगती विरुद्ध परिवार र समाजले सचेतना जगाउनुपर्ने उनको सुझाव छ ।

कार्यक्रममा बोल्ने अन्य बक्ताले पनि विकृती, विसंगती विरुद्ध सचेतना तथा नैतिक शिक्षाको आवश्यकता औल्याए । यसका साथै शान्ति सुरक्षा कायम गर्न प्रहरीले आफ्नो उपस्थिती बढाउनुपर्ने सुझाव दिइएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई ब्यवहारमा लागु गर्नुपर्ने बक्ताहरुले जोड दिए । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधी, समाजसेवी, पत्रकार लगायतले शान्ति सुरक्षाबारे आफ्नो धारणा राखेका थिए ।

Womui
Womui