श्रीलंकामा पूर्वराष्ट्रपति राजापाक्षे प्रधानमन्त्रीमा नियुक्त

115

कोलोम्बो, कात्तिक १० (एजेन्सी) । श्रीलंकामा सत्ता समिकरण अचानक परिवर्तन भएको छ । शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको पार्टी श्रीलंका फ्रिडम एलाइन्सले प्रधानमन्त्री रनिल विक्रमसिंगेको सरकारबाट बाहिरिने निर्णय गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीति बदलिएको हो । युनाइटेड नेशनल पार्टीका नेता रनिल सन् २०१५ देखि श्रीलंकाका प्रधानमन्त्री थिए । पार्टीको उक्त निर्णयको केहीबेरमै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिललाई बर्खास्त गरे । राजनीतिक घटनाक्रम तीव्र रूपमा विकसित भयो ।


रनिललाई बर्खास्त गरेको केही समयमै सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेले नयाँ प्रधानमन्त्रीको सपथ खुवाए । श्रीलंकाली सञ्चारमाध्यमका अनुसार यी दुई पार्टीबीच गत फेब्रुअरीमा भएको स्थानीय चुनाव यता विवाद बढ्दै गएको थियो । आर्थिक नीति र दैनिक प्रशासनिक काममा पनि दुई दल टाढिँदै गएका थिए । उक्त चुनावमा राजापाक्षेको पार्टीले जित हात पारेको थियो । सन् २००५ देखि २००१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका राजापाक्षे सन् २००४ मा एक वर्षका लागि पहिलो पटक प्रधानमन्त्री बनेका थिए । सन् २०१५ को चुनावमा पनि राजापाक्षे राष्ट्रपतिका उम्मेदवार थिए। । उनकै मन्त्रिमण्डलका सदस्य रहेका सिरिसेनाले चुनावको केही दिनअघि मन्त्रीबाट राजीनामा दिए र चुनावमा राजापाक्षेलाई हराए । तीन वर्षपछि उनै सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरे ।

Womui
Womui