आचरण विपरित काम गर्ने नागढुंगाका २० प्रहरीको एकैपटक सरुवा

42

छिनछिन खबर
काठमाडौं, असोज १७ । महानगरीय प्रहरी परिसरले आन्तरिक निगरानी सुरु गरेको छ । केही दिन अघिमात्रै कोटेश्वरका प्रहरीहरु घुससहित रंगे हात पक्राउ परेपछि आइजिपी सर्वेन्द्र खनालले काठमाडौंका एसएसपी वसन्त लामालाई प्रहरी कार्यालयको निरीक्षण नगरेको भन्दै सातो लिएका थिए ।


नियमित निरीक्षण नगर्दा प्रहरीले आचरण विपरित काम गरेकाले प्रहरी संगठन नै बद्नाम हुन पुगेको आइजपी खनालले बताएका थिए ।
आइजिपीको कडा निर्देशनपछि महानगरीय प्रहरी प्रहरी परिसर, काठमाडौंले मातहतका प्रहरी कार्यालयको निरीक्षण सुरु गरेको हो ।
प्रहरी प्रभाग नागढुंगाका प्रहरी कर्मचारीले आचरण विपरित काम गरेको पाएपछि एकैपटक जवानदेखि सईसम्म गरी २० जना प्रहरीको सरुवा गरेको छ । उनीहरुलाई प्रहरी हेडक्वार्टर, आयुक्त कार्यालय लगायतमा तानिएको छ ।

एसपी अशोक सिंहले नागढुंगा प्रभागका प्रहरी निरीक्षकभन्दा तल्लो दर्जाका प्रहरीले आचरण विपरित काम गर्ने गरेको रिपोर्ट आएपछि सरुवा गरेको जानकारी दिए । अन्य ठाउँका प्रहरी कार्यालयको पनि निरीक्षण भइरहेकोले आचरण विपरित काम गरेको पाइए उनीहरुलाई पनि कारबाही गर्ने उनले बताए । नागढुंगामा प्रहरी निरीक्षक केशवराज भट्ट नेतृत्वको टोली खटिएको थियो । भट्टको भने सरुवा गरिएको छैन ।

Womui
Womui