इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान

41

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गरेकी छिन् ।प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई शनिबार राष्ट्रपति कार्यालयमा नै सम्बोधन गर्दै उनले लोकतन्त्रको सम्वद्र्धन र रक्षाका लागि प्रेस जगतले उल्लेखनीय योगदान गरेको बताइन् ।उनले शीघ्र सूचना सम्पेषण गर्ने चाहनामा गलत समाचार तथा सूचना सम्प्रेषण हुन सक्ने भएकाले त्यसतर्फ विशेष ध्यान दिन पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गरिन् । ऐतिहासिक राजनीतिक परिवर्तनपछि मुलुक अहिले आर्थिक समृद्धितर्फ केन्द्रित रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले राजनीतिक मतभेद अन्त्य भएको अवस्थामा आर्थिक विकास र जनताको जीवनस्तरको सुधार नै आजको प्रमुख दायित्व भएको धारणा राखिन् ।

उनले राज्यले अगाडि सारेका नीति तथा कार्यक्रमलाई मर्या्दित भएर अगाडि बढाउन राज्यको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । इन्टरनेट र समाजिक सञ्जालको सदुपयोग गर्न आग्रह गर्दै राष्ट्रपतिले राष्ट्रले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेकाले त्यसलाई केन्द्रमा राखेर आफ्नो आचारसंहिता तथा मूल्य र मान्यतामा रहेर अग्रसर हुन सञ्चारकर्मीलाई आग्रह गरिन् ।

मुलुकलाई सही दिशामा लैजान पत्रकारिता क्षेत्रको प्रमुख कर्तव्य रहेको भन्दै उनले गलत सूचना नजाओस् भनेर निरन्तर सजगता अपनाउनु पत्रकारिता क्षेत्रको पेशागत दायित्वसमेत रहेको र त्यसले पेशाको मर्यादा र सम्मानसमेत गर्ने उल्लेख गरिन् ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लामो समयदेखि नागरिक स्वतन्त्रताका निम्ति लडेका र लामो समयदेखि प्रेस स्वतन्त्रताको पक्षमा लागिरहेका पार्टी र सोही पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रेस स्वतन्त्रता हनन हुन्छ कि भनेर आशङ्का नगर्न आग्रह गरे ।

उनले भने, ‘सधैँ शङ्का मात्रै गर्ने हो भने त्यसको कुनै औषधि हुँदैन । अप्ठ्यारो केही विषयमा परेको भए त्यसलाई सच्याउन हामी तयार छौँ । नागरिक स्वतन्त्रताको पक्षमा लडेको दल र त्यसको नेतृत्व सरकारमा रहेकाले त्यसबाट प्रेस स्वतन्त्रता हनन हुन्छ र गर्छ भनेर ठान्नु नै गलत हुन्छ ।’चिन्ता गर्नेभन्दा पनि चिन्तन गर्न आग्रह गर्दै उनले कानुनी प्रावधानका विषयमा उठेका विषयलाई स्वभाविकरुपमा सम्बोधन गरिने र त्यसलाई व्यवस्थित गरिने उल्लेख गरे । उनले भने, ‘गाउँखाने कथा जस्तो बह्मा, विष्णु, महेश्वर भने जस्तो पत्रकारिता क्षेत्र हुनु हुँदैन । त्यो पनि नियमनमा बस्नुपर्छ। व्यक्तिगत स्वतन्त्रता पनि हुन्छ। त्यसलाई ख्याल गर्नुपर्छ ।’

पत्रकारिता र सञ्चार क्षेत्रलाई व्यवस्थित र मर्या्दित बनाउन पत्रकार आफैंले पनि सच्चिनुपर्ने र आफैँतिर हेर्नुपर्नेमा मन्त्री बाँस्कोटाको जोड थियो । सरकारले शुक्रबारदेखि अश्लिल वेबसाइट बन्द गरेको विषयमा समेत आफूलाई जोडेर नकारात्मक टिप्पणी गरिएकोमा उनले आपत्ति प्रकट गरे ।‘नेपालको आफ्नै मौलिक सद्भाव, मान्यता र परम्परा रहेको छ। संसारमा कुनै पनि देश र समुदायमा अश्लिलतालाई स्वीकार गरिँदैन।’, मन्त्री बाँस्कोटाले भने, ‘हामीले शुक्रबार अश्लिल वेबसाइट बन्द गर्न निर्देशन दियौँ । तर, मलाई नै लक्षित गरेर तानासाहको सरकार यस्तै हुन्छ, अब के पो गर्न बाँकी रह्यो र भन्ने जस्ता टिप्पणी गरियो। योभन्दा विकृत मानसिकताको उपज अरु केही हुन सक्छ?’

विगतको छापाखाना ऐनले न्यू मिडियालाई निगमन गर्न नसक्ने भएकाले नयाँ कानूनी र नीतिगत व्यवस्था गर्न लागिएको उनको प्रष्टोक्ति थियो। हरेक पेशाको मर्यादा हुने भन्दै उनले कानून, न्याय र विधिभन्दा बाहिर जाने तथा संविधान नै मान्दिन भन्ने मान्यताबाट कोही पनि निर्दे्शित हुन नहुनेमा जोड दिए ।मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल ऐन र नयाँ प्रेस कानून तयारीको क्रममा रहेको भन्दै हाल उठेका सबै विवादलाई त्यसले हल गर्नेसमेत स्पष्ट पारे। व्यक्तिगत स्वतन्त्रतालाई पनि ख्याल गरेर पत्रकारिता गर्न आग्रह गर्दै उनले सरकार र सरकारी निकायमाथि निगरानी गर्न भने छुट दिइएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रतामा बन्देज लाग्नै नसक्ने भएकाले अनावश्यक चिन्ता लिनु नपर्ने बताए। विद्युतीय कारोवार ऐन र गत भदौ १ गतेदेखि लागू भएको संहिताले केही डर पैदा गरेको भए पनि सरकारले त्यसकोसमेत सम्बोधन गर्न उच्चस्तरीय कार्यदल गठन गरिसकेको भन्दै उनले कुनै पनि बन्देज लाग्न नसक्ने स्पष्ट पारे। उनले समयानुकूल ऐन तथा निमयको प्रबन्ध गर्नु जरुरी रहेको आवश्यकता औँल्याए ।
रासस

Womui
Womui