‘कम्युनिष्ट सरकारले जनताका अधिकार कुण्ठित गर्यो’ : पुर्वप्रधानमन्त्री देउवा

91

नेपालगन्ज, भदौं २५-
नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकारले जनताका अधिकार कुण्ठित गर्न थालेको बताएका छन् । नेपाली जनताले ठुलो संघर्ष गरेर ल्याएको लोकतन्त्र कम्युनिष्टहरुबाटै खतरामा परेको उनको भनाई छ । ‘मुलुकमा विस्तारै कम्युनिष्ट शासन स्थापित हुदैछ, कम्युनिष्ट शासन स्थापित भएपछि जनताका अधिकार कुण्ठित हुनेछन्,’ नेपाल ट्रेड युनियन कांग्रेस बाँकेको कार्यक्रमलाई सोमबार नेपालगन्जमा सम्बोधन गर्दै देउवाले भने ‘अहिले मुलुकको न्यायपालिकामाथी हस्तक्षेप भईसकेको छ, भोली कर्मचारीतन्त्रमाथी पनि उनीहरु हस्तक्षेप गर्नेछन् ।’ पछिल्लो समयमा मुलुक अत्यन्तै अप्ठ्यारो अवस्थामा आईपुगेको उनले बताए । कांग्रेस एक ढिक्का हुने बितिकै कम्युनिष्टहरु परास्त हुने जिकिर गरे । देउवाले भने, ‘मुलुकमा बिस्तारै कम्युनिष्ट शासन स्थापित गर्न खोज्दैछन्, नेपाली कांग्रेस एकढिक्का भएपछि उनीहरु आफै हराउँछन् ।’

महामन्त्री डा. शशांक कोईरालाले पार्टी एक ढिक्का भएपछि कांग्रेसलाई कसैले पनि हराउन नसक्ने ठोकुवा गरे । अन्तरघातका नाममा जथाभावी कारबाही भयो भने त्यसले पनि पार्टीलाई फाईदा नगर्ने बताए । कोईरालाले भने, ‘चुनावमा अन्तरघात गर्नेलाई कारबाही गर्नुपर्छ, म पनि यसको पक्षमा छु, तर अन्तरघातका नाममा जथाभावी कारबाही भयो भने त्यसले पनि पार्टीलाई राम्रो गर्दैन ।’ कार्यक्रमलाई कांग्रेस केन्द्रिय सदस्यहरु डा. रामशरण महत, किशोरसिंह राठौर र बद्री पाण्डे तथा बाँके सभापति किरण कोईरालाले पनि सम्बोधन गरेका थिए ।

ट्रेड युनियन बाँकेका अध्यक्ष रामबहादुर मल्लको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा उपाध्यक्ष लक्ष्मीकुमारी पौडेलले स्वागत गरेकी थिईन् । ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्र बिकले सञ्चालन गरेको उक्त कार्यक्रममा ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष तेजेन्द्रजंग कार्की, अर्का उपाध्यक्ष आशासिंह राठौर, सम्पुर्ण आवद्ध संघ संस्थाको तर्फबाट शिक्षक संघ बाँकेका अध्यक्ष बिरेन्द्र यादव लगायतले आफ्नो धारणा राखेका थिए । एक दिने उक्त प्रशिक्षणमा ट्रेड युनियनका जिल्ला कार्यसमिति पदाधिकारी, प्रदेश र संघिय प्रतिनिधी तथा आवद्ध संघ संस्थाबाट गरी करिव एक सयभन्दा बढी सहभागी भएको जिल्ला उपाध्यक्ष रुद्र अधिकारीले जानकारी दिए । सहभागीलाई कांग्रेस केन्द्रिय सदस्य बद्री पाण्डे, ट्रेड युनियन कांग्रेसका केन्द्रिय उपाध्यक्ष कार्की, उपमहासचिव गणेशबहादुर केसी लगायतले प्रशिक्षण दिने बताइएको छ ।

तस्बिरहरु सबै : मधु पौडेल

 

Womui
Womui