आइजिपी खनाल भन्छन्ः निर्मला हत्या प्रकरणमा गल्ती भएको छ

140

छिनछिन खबर
महेन्द्रनगर, भदौ २२ । कञ्चनपुरको भिमदत्त नगरपालिका २ महुलिया, उल्टाखामकी बालिका निर्मला पन्तको बलात्कार र हत्या भएको घटनाको अनुसन्धानमा प्रहरीले त्रुटी गरेको प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा आइजिपी खनालले भने ‘प्रहरीले यस घटनाको अनुसन्धानमा केही बिगारेको छ, यस घटनामा संलग्न जो कोही भएपनि कानुनी दायरामा ल्याउँछौं ।’

कुनै निर्दोष व्यक्तिलाई यस घटनामा यातना दिएर सकार्न नलगाइने बताउँदै महानिरीक्षक खनालले नालायक प्रहरीले सम्पुर्ण संगठनलाई नै बदनाम बनाएको समेत बताए । हिंसाका घटनाको समाधान मिलापत्रमार्फत खोज्न नहुने बताउँदै महानिरीक्षक खनालले यस घटनामा भिआइपी र भिभिआइपी जोेकोही भएपनि कानुनी कठघरामा उभ्याउने बताए । राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रममा महानिरीक्षक खनालले आफ्नो सेवाकालको दुखद घटनाका रुपमा यसलाई लिने बताए । यो घटनामा संलग्न आफ्नै संगठनको जो कोही भएपनि त्यसलाई कारबाही हुने उनले बताए ।

साउन १० गते साथी रोशनी बमको घर दिउँसो गृहकार्य गर्न गएकी निर्मला वेपत्ता भएकी थिइन् । बमको घरको केही पर भिमदत्त नगरपालिका १९ बागफाँटाको उखुबारीमा दोस्रोदिन उनको शव फेला परेको थियो । यस घटनामा पक्राउ गरिएका ४१ बर्षीय मानसिक अवस्था कमजोर भएका भनिएका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ । प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्य लगायतको परीक्षणका लागि काठमाडौं लगेको हो । ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर भिमदत्त नगरपालिका १८ भगतपुर शुभकामना टोलका सन्नी खुनाको ज्यान गएको थियो। घटनापछि गृहमन्त्रालयले छानबिनका लागि मन्त्रालयका सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय छानबिन समिति महेन्द्रनगर पठाएको छ ।

Womui
Womui