५४ लाख नेपालीले लिए राहदानी, बर्सेनि राहदानी लिने बढ्दै

64

प्रनिलबहादुर खड्का
काठमाडौं। साउन १६ । ५४ लाख ४१ हजार ६ सय ५१ जनाले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) लिएको पाइएको छ । नेपालमा आर्थिक वर्ष २०६७÷६८ एमआरपी जारी गर्न सुरु भएको हो । त्यसअघि हस्तलिखित राहदानी प्रचलनमा थियो । यो अवधिमा ४४ लाख ४३ हजार ४ सय ५४ जना पुरुष र ९ लाख ९ हजार ३ सय ८९ जना महिलाले राहदानी बनाएको राहदानी विभागको तंथ्याकमा उल्लेख छ ।
राहदानी लिनेको संख्या वार्षिक रुपमा बढ्दै गएको विभागले जनाएको छ । सरकारले एमआरपी वितरण गर्न सुरु गरेको पहिलो वर्ष नै १ लाख ७३ हजार ७ सय ७२ जनाले राहदानी लिएका थिए । आर्थिक वर्ष २०७४÷७५ को तथ्यांक हेर्ने हो भने राहदानी लिनेको संख्या पहिलो वर्षको भन्दा करिब ५ गुणाले बढेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ५ लाख ५ हजार ७ सय २१ जनाले राहदानी लिएका छन् ।


हाल जिल्ला तहमा, कुटनीतिक नियोग र राहदानी विभागमार्फत दैनिक २५ सयका दरले राहदानीका लागि आवेदन आउने गरेको विभागले जनाएको छ । जसमध्ये विभागले दैनिक ९ सयभन्दा बढी राहदानी जारी गर्दै आएको छ । यही अनुपातमा वार्षिक ५ लाखभन्दा धेरै राहदानी जारी गर्दै आएको विभागको तंथ्याकमा उल्लेख छ । विभागका अनुसार हालसम्म २ लाख ५० हजार ५ सय १२ हराएका प्रतिलिपि राहदानीसमेत जारी गरिसकिएको छ । द्रुत सेवामार्फत विभागले हाल १५ हजार रुपैयाँ दस्तुर लिएर एकैदिनमा राहदानी वितरण गर्दै आएको छ । त्यस्तै, जिल्ला र नियोगबाट १५ दिनमा उक्त सेवा दिँदै आएको छ । ३ दिनपछि राहदानी जारी गर्दा १० हजार रुपैयाँ र जिल्लाबाट लिनेका लागि ५ हजार रुपैयाँ राजश्व तोकिएको छ ।

राहदानी लिएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको पाइन्छ । २० देखि ३६ वर्ष उमेर समुहका नागरिकले धेरै राहदानी लिने गरेको विभागको भनाइ छ । यसरी राहदानी बनाउने व्यक्तिहरु अधिकांश वैदेशिक रोजगारीमा जाने गरेको विभागको बुझाइ छ । गएको एक वर्षमा सबैभन्दा बढी राहदानी झापा, धनुषा, मोरङ, सुनसरी, नवलपरासी, काभ्रे र धनकुटा जिल्लाका नागारिकले लिएको विभागको तंथ्याकमा उल्लेख छ । विभागले विदेशमा रहेका कुटनीतिक नियोगबाट पनि राहदानी वितरण गर्दै आएको छ ।

५ हजारभन्दा बढीलाई रातो पासपोर्ट
नेपाल सरकारले हाल ४ किसिमको राहदानी वितरण गर्दै आएको छ। रातो, निलो, हरियो र कालो गरी ४ रङका राहदानी वितरण हुने गरेको विभागले जानकारी दिएको छ । हालसम्म कुटनीतिक राहदानी (रातो पासपोर्ट) ५ हजारभन्दा बढीले लिएको विभागले जनाएको छ । यस्तै, निलो सरकारी सेवामा रहेका निजामति कर्मचारीका हकमा वितरण हुने गरेको छ । निलो राहदानी ११ हजारभन्दा धेरैले लिएका छन् ।
हरियो वैदेशिक रोजगारीमा जाने श्रमिक, विदेशिने नेपाली र अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई जारी गर्ने गरिन्छ । कालो राहदानी भने गैरनेपालीलाई वितरण गर्ने गरिएको छ । विदेशी नागरिक नेपालमा आएर अलपत्र अथवा शरणार्थी भएर स्वदेश फर्किने हकमा कालो राहदानी वितरण गर्ने गरिन्छ । यस्तो राहदानी हालसम्म करिब १५ हजार विदेशी नागरिकले लिएका छन् ।

१९ अर्बभन्दा धेरै राजस्व संकलन
विभागले गएका ७ वर्षमा राहदानी वितरणबाट मात्रै १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३ सय राजस्व संकलन गरेको छ । उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्व बाहेकको रहेको विभागको भनाइ छ । राज्यले अनलाइन प्रणालीबाट राहदानीको फारम भर्ने तथा जिल्ला र विदेशमा रहेका कुटनीतिक नियोगबाट पनि आवेदन लिन सुरु गरेपछि राहदानी लिनेको संख्या बढेको विभागले जनाएको छ ।

Womui
Womui