कोरियामा मजदुरको पारिश्रमिक बढ्यो, नेपाली कामदारसमेत लाभावन्ति

297

सोल, साउन १ (एजेन्सी) । कोरिया सरकारले मजदुरको तलबमा ११ प्रतिशतले वृद्धि गरेको छ । मजदुरको तलब वृद्धिले नेपाल लगात विभिन्न मुलुकका श्रमिकलाई फाइदा हुने भएको छ । अबदेखि कोरियामा काम गर्ने मजदुरको न्यूनतम पारिश्रमिक करिब एक लाख ७० हजार रुपैयाँ पुग्ने भएको छ । ज्याला निर्धारण समितिको बैठकले मूल्यवृद्धिको आाधारमा तलब वृद्धि गर्ने निर्णय गरेको हो ।


तलब वृद्धि भएसँगै आगामी जनवरी १ देखि कोरियामा कार्यरत स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम पारिश्रमिक प्रतिघन्टा ८ हजार ३ सय ५० कोरियन वन निर्धारण भएको छ । यसअघि प्रतिघन्टा ७ हजार ५ सय ३० वन पाउँदै आएका मजदुरले तलब वृद्धि भएसँगै अब दैनिक ८ घन्टा काम गरेपछि मासिक १७ लाख ४५ हजार १ सय ५० वन (करिब १ लाख ७० हजार रुपैयाँ ) पाउनेछन्। ।

प्रत्येक वर्ष मजदुरको तलब वृद्धि गर्दै आएको कोरिया सरकारले मुन्जेइन राष्ट्रपतिमा नियुक्त भएपछि गत वर्ष १६ दशमलव ४ प्रतिशतले वृद्धि गरेको थियो । यो वर्ष तलब वृद्धि गर्न सरकारी पक्ष तयार नभएपछि मजदुर संगठनहरुले लगातार आन्दोलन गर्दै आएका थिए । कोरियाले कृषि र सेवा क्षेत्रमा काम गर्न विभिन्न् १४ मुलुकबाट कामदार लैजाने गर्छ । नेपालबाट कोरियाले रोजगार अनुमति प्रणालीमार्फत हरेक वर्ष कामादर लैजाने गछ्र । सन् २०१९ मा उड्न पाउने गरी यतिखेर कामदार छनोट प्रक्रिया जारी छ । केही दिन अघि प्रकाशित भाषा परीक्षाको नतिजा अनुसार करिब ८ हजार युवा उत्तीर्ण भएका छन् । यो वर्ष कोरियाले नेपालका लागि सात हजार एक सय कोटा तोकेको छ । भाषा परीक्षा उत्तीर्ण गरी हालसम्म ५० हजार युवा रोजगारीका लागि कोरिया गएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी शोभाकर भण्डारी कोरियामा पारिश्रमिक वृद्धिले नेपाली कामदारलाई लाभ पुग्ने बताउँछन् ।

गतवर्ष सरकारले तलब वृद्धिसँगै काम गर्न पाउने समय पनि निर्धारण गरेको थियो। सो नियम अनुसार हप्तामा ५२ घन्टाभन्दा धेरै काम गर्न बन्देज लगाइएको छ । ३ सय जनाभन्दा धेरै कामदार कार्यरत कम्पनीहरुमा जुलाई १ देखि यो नियम लागू भइसकेको छ भने अन्य साना तथा मझौला कम्पनीमा सन् २०२२ सम्म लागू गर्दै जाने सरकारको तयारी छ ।

Womui
Womui